Background Image

सङ्कट आफ्नै हो भने भारी बोक्ने काँध पनि आफ्नै हुनुपर्छ

2026-10-14
कतै क्यान्सर आँसु बिकाउने बजार त बन्दैछैन ??
जीवन जब कुनै अजङ्गको चट्टानसँग ठोकिन्छ, तब कि त मान्छे चकनाचुर हुन्छ, कि त ऊभित्रको चेतना ज्वाला बनेर सल्किन्छ। आज म मनको त्यो अन्तरकुन्तर खोतल्न खोज्दैछु, जहाँ शब्दहरू आँसुले भिजेका छन् तर तिनीहरूको मेरुदण्ड भने स्वाभिमानको फलामले बनेको छ।
क्यान्सरको त्यो पर्खालभित्र एउटा परिवारको आत्मसम्मान कसरी धूलोसँग लड्छ र आँसुको खेती गर्ने गिरोहहरू कसरी मान्छेको लाचारीमाथि आफ्नो साम्राज्य खडा गर्छन्— त्यो लेख्ने आँट विरलैले गर्छन्। आज म आफ्नै मुटुको घाउमा कलम चोपेर यो यथार्थ कोर्दैछु।
आज यो लेख्दै गर्दा हाम्रो घरको आकाशबाट कालरात्रीको बाक्लो बादल केही पर सरेको छ। शल्यक्रिया भएको आठ महिना बितिसक्यो, अनि त्यो शरीर जलाउने किमोथेरापीको चक्र सकिएको पनि तीन महिना नाघ्यो। अहिले कुनै नियमित औषधीको बन्धन छैन। बस, हरेक तीन महिनामा दिल्लीको त्यो परिचित अस्पताल पुग्नुपर्छ, केही परीक्षण गराउनुपर्छ र चिकित्सकका आँखामा ‘सबै ठीक छ’ भन्ने सङ्केत खोज्नुपर्छ। तीन महिनाको भाका कटाएर चार महिना एक हप्ताको समयमा आगामी कात्तिक ६ गते हामी पहिलो फलोअपका लागि फेरि दिल्ली जाँदैछौँ।
म प्रकृतिको त्यो रूख हुँ, जसले अरूलाई छहारी दिन आफ्ना हाँगाबिँगा फैलाउन त जान्यो, तर आफ्नै पात झर्दा कहिल्यै कसैसँग पात माग्न सकेन। अरूको विपत्तिमा मेरो गला खुल्छ, हातहरू सहयोगका लागि अघि बढ्छन्; तर जब आफ्नै छातीमा पहिरो खस्छ, म मौनताको ओढारभित्र पस्छु। कसैको ढोकामा गएर अनुनयको झोला थाप्न मेरो चेतनाले कहिल्यै मानेन।
मेरो जीवन-दर्शन प्रष्ट छ— सङ्कट मेरो व्यक्तिगत हो भने त्यसको भारी बोक्ने पहिलो काँध पनि मेरै हुनुपर्छ। सकिन्छ, पसिनाको गन्ध मिसिएको ऋण लिने; त्यो ऋणको भार धान्न सकिएन भने आफूले जोडेको स्थिर सम्पत्ति बेच्ने; त्यो पनि नपुगे आफ्नो सर्वस्व लिलाम गर्ने। जब सबै ढोका बन्द हुन्छन्, जब प्रकृतिको अन्तिम त्यान्द्रो पनि चुँडिन्छ, तब मात्र मान्छेले समाजसामु हात फैलाउने हो। ईश्वरको कृपाले, आजसम्म मैले ऋणको घेराभित्रै रहेर यो लडाइँ लडेको छु; कसैको दयाको पात्र बन्ने मोडसम्म पुग्नुपरेको छैन।
यस क्रममा आफन्तको भूमिकाबारे पनि एउटा कुरा भन्नैपर्छ। आफ्नो मान्छे यस्तो गम्भीर सङ्कटमा पर्दा आफन्तहरूले विवेक पुर्‍याएर आफैँ अग्रसर भई सहयोग गर्नुपर्ने हुन्छ। सङ्कटकै बेला साथ दिनेहरू मात्र वास्तविक आफन्त हुन्। आफन्त भएर पनि विपद र समस्यामा आँखा चिम्लने, अनि भोलि बिरामी पक्ष बाध्य भएर समाजसामु हात फैलाउन पुग्यो भने ‘हाम्रो मान्छेले माग्दा हाम्रो बेइज्जत भयो’ भन्दै लाज मान्ने प्रवृत्ति देखिएकाे छ, त्यो आफन्तहरूको सबैभन्दा ठूलो कमजोरी र विडम्बना हो । यसमा धेरै चर्चा पनि नगर्दा नै उपयुक्त याे त मात्र हाम्राे समाजमा यस्ता परिवार पनि हुन्छ जाे दया पनि देखाउन अातुर हुन्छन अनि दान देखाउन अग्रसर । यसमा म एउटा फिस्टाेले लेख्नु र चिर्न खाेज्नु भनेकाे म अाफै चिरिनु बाहेक केहि हुन्न पनि ।
दिल्लीको त्यो बिरानो सहरमा, जहाँ मान्छेहरू आफ्नै साससँग डराइरहेका हुन्थे, म दैनिक ६०० भारुको एउटा सानो, ओसिलो कोठामा बसेँ। हामी श्रीमान्-श्रीमती मात्रै थियौँ; किनकि भीड बढाउनु भनेको खर्चको आगोमा घ्यू थप्नुजस्तै थियो। औषधिमा एक पैसा लोभ गरिनँ, तर आफ्नो विलासिताको घाँटी निमोठेर पाई-पाई जोगाएँ। त्यो सङ्कटको घडीमा पनि हात बाँधेर रोएर बसिनँ; कर्म नै धर्म हो सम्झेर दिल्लीमै आफ्नो पेशा अनुकूल केही व्यापारिक बाटो रोजेँ। त्यहाँबाट केही सामग्री जुटाएर यता ल्याई बेचेँ र खर्चको ठूलो भेलमा आम्दानीको सानो भए पनि बाँध बाँधेँ।
तर त्यहीँ मैले अनौठो विडम्बना पनि देखेँ। जो मानिसहरू 'उपचार खर्च भएन' भन्दै सामाजिक सञ्जाल र दाताहरूसामु याचनाको पोको फुकाइरहेका थिए, उनीहरू २५०० भारुका कोठामा चार-पाँच जना आफन्तको लावालस्करसहित बसिरहेका भेटिन्थे। मन अमिलो हुन्थ्यो। मनमनै लाग्थ्यो— "हे भगवान्, कसैको पसिनाको कमाइबाट उठेको दानको त सम्मान गरौँ!" भावनाको नाममा जुटेको त्यो पवित्र सहयोगको दुरुपयोग देख्दा लाग्थ्यो, मान्छेहरू रोगबाट त जोगिएलान्, तर विवेकको दरिद्रताबाट कहिल्यै जोगिने छैनन्। फेरि सम्झाउ भने उल्टाे जवाफ अाउछ सम्झाउँदा आफैँ बैरी भइने चिन्ताले म मौन रहेँ। यस विषयमा धेरै नलेखौँ, किनकि हामी यस्तो समयमा छौँ जहाँ 'आँ गर्दा अलङ्कार बुझ्ने' चेत सबैमा छ।
मैले आफैँले भोगेको अर्काे प्रत्यक्ष घटना सुनाउँछु। त्यो समय हाम्रो चौथो तथा अन्तिम किमोको थियो। हामी राजीव गान्धी अस्पतालको डे-केयर कक्षमा थियौँ। श्रीमती किमोको सुईसँग जुधिरहेकी थिइन्, म केही समयका लागि चिया पिउन तल निस्किएको थिएँ। फर्किँदा उनले भनिन्, "अघि एक जना आएर ‘आर्थिक समस्या भए तल काउन्टर छेउको कोठामा आउनु’ भन्दै थिए। एकपटक गएर बुझ्नुस् न, भोलिका लागि केही सहज पो हुन्छ कि!"
'अब सबै सकिनै लाग्यो, केको सहयोग?' भन्ने लागेको थियो; तर श्रीमतीको मन राख्न म तल गएँ। त्यहाँ खाजा खाइरहेकी एक महिलाले मलाई एउटा फोन नम्बर थमाइन्।
मैले नम्बर डायल गरेँ, "हेलो सर नमस्कार, मै नेपाल से हूँ... थोड़ी देर पहले आपने डे-केयर में आर्थिक सहायता के लिए बुलाया था, अभी हम नीचे रूम में हैं।"
उनले मलाई दोस्रो तल्लाको कुरुवा बस्ने ठाउँमा बोलाए। म पुगेँ। मेरो कथा र रोगको विवरण सुनेपछि उनले जुन प्रस्ताव राखे, त्यसले मेरो स्वाभिमानमा चट्याङ नै खसायो।
ती महाशयले निर्धक्क भने— "हामी तपाईंको उपचारका लागि सबै सहयोग जुटाउनेछौँ। बिरामीसहित तपाईंको एउटा कारुणिक भिडियो बनाउनेछौँ। त्यो भिडियोबाट जति रकम उठ्छ, तपाईंको बाँकी उपचारमा खर्च गर्ने र बचेको रकम अन्य बिरामीका नाममा हाम्रो संस्थामा राख्नुपर्छ।"
यो सुन्नेबित्तिकै मेरो कन्चेटको रौं ठाडो भयो। मेरो रगत उम्लियो। त्यो कुनै परोपकार थिएन, त्यो त क्यान्सरपीडितको लाचारी, आँसु र पीडालाई क्यामेरामा कैद गरेर बजारमा बेच्ने घिनलाग्दो दलाली थियो! मेरो मनभित्र स्वाभिमानको सिंह गर्जियो।
मैले सिधै सोधेँ— "जब हाम्रो उपचारको सम्पूर्ण कष्टकर यात्रा सकिनै लाग्यो, जब हामीले आफ्नै रगत-पसिना र ऋणको भरमा यहाँसम्म लडाइँ लडिसक्यौँ, तब तपाईंहरू अहिले आउनुको पछाडि के रणनीति हो?"
मैले चर्को स्वरमा आफ्ना तर्क राख्दै प्रश्नको वर्षा गर्न थालेपछि ती व्यक्ति ‘कसैको फोन आयो’ भन्ने बाहना बनाएर त्यहाँबाट सुटुक्क हिँडे। एउटा कुरा सधैँ स्मरणमा राख्नुहोला— त्यहाँ यस्ता व्यक्ति र समूह पनि सक्रिय छन्, जो बिरामीको पीडा बेचेर आफ्नो व्यापार चलाउन दाउ कुरिरहेका हुन्छन्। यो विषय मैले नबुझेको हो वा म नै गलत थिएँ, थाहा भएन; तर त्यो क्षणको परिस्थिति अनुसार मैले जे गरेँ, पूर्ण रूपमा ठिक गरेँ भन्ने मेरो दृढ बुझाइ छ।
आज म सोच्छु— के मानव संवेदना यति सस्तो भइसकेको छ? के अस्पतालका गल्लीहरूमा कसैको प्राणान्त पीडालाई भजाएर 'आँसुको डलर' बटुल्ने यस्ता अदृश्य गिरोहहरू खुलेआम घुमिरहेका छन्?
हो, घुमिरहेका छन्। यो कुनै भ्रम होइन, कटु सत्य हो। परोपकारको साइनबोर्ड झुन्ड्याएर बिरामीको चित्कारलाई डकुमेन्ट्री बनाउने र व्यापार चलाउने यो खेल पर्दा पछाडि खुलेआम मौलाइरहेको छ।
म यो लेखमार्फत ती तमाम बिरामी र उनीहरूका परिवारलाई सचेत गराउन चाहन्छु— रोगसँग लड्दा शरीर गल्न सक्छ, तर आफ्नो आत्मा र स्वाभिमानलाई यी बजारिया गिद्धहरूको हातमा कहिल्यै नसुम्पनुहोस्। आफ्नो पसिना, आफ्नो ऋण र आफ्नो सामर्थ्यले लड्नुहोस्। साँचो अभावमा सहयोग लिनु कुनै अपराध होइन, तर आफ्नो पीडालाई कसैको व्यापारको साधन बन्न दिनु आफ्नै आत्मामाथिको ठूलो घात हो।
आँसु अमूल्य हुन्छ, यसलाई सङ्घर्षको तागत बनाउनुहोस्; कुनै एनजिओ वा गिरोहको बजारु विज्ञापन कहिल्यै नबनाउनुहोस्।