Background Image

जब जीवनभन्दा सिक्का भारी बन्छ: क्यान्सर र अदृश्य व्यापार | बिक्रम न्यौपाने

2026-10-12

‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’— यो उक्ति हामीले बाल्यकालदेखि कण्ठ त गर्‍यौँ, तर हृदयको गहिराइमा कहिल्यै उतार्न सकेनौँ। हामी अझै अबुझ छौँ, अझै चेतनाको घाम नछिरेको कुनै अँध्यारो गुफामा छामछाम-छुमधुम गरिरहेका विवश यात्रुजस्ता छौँ। जीवन जब क्यान्सरजस्तो कालरात्रिको चक्रव्यूहमा फस्छ, जब आफ्नै रगत र सासको डोरी चुँडिन खोज्छ, त्यतिबेला पनि हामी भित्ताको क्यालेन्डर र बैंकको खाता पल्टाएर भौतिक धन जोगाउने गणितमै अल्झिन्छौँ। विज्ञानको महँगो प्रकाश अँगाल्न हिचकिचाउँछौँ। अझ अनौठो त के भने, आफ्नै प्राणको चिता छेउमा उभिएर पनि हामी जीवनसँगै ‘व्यापार’ गरिरहेका हुन्छौँ— दुई-चार पैसा जोगाउने सस्तो नाफा-घाटाको व्यापार! मैले यस्तै केही तिता यथार्थहरू यहाँहरूसामु पोखेको थिएँ। यो लेखको पूर्वार्द्धमै लेख लेख्नु अगाडी पाेष्ट गरेर जब मैले प्रश्न उठाएको थिएँ— “के क्यान्सरका बिरामी र तिनका परिवारले पनि आफू र आफ्नालाई लागेको रोगमा व्यापार गर्छन्?”— तब धेरैले यसको मर्म, चिन्तन र गहिराइ नबुझी ममाथि नै औँला ठड्याए, “तपाईं आफैँ व्यापार गर्नुहुन्छ कि क्या हो?” भन्दै आक्रोश र रिसका भारीहरू पोखे।

तर म मौन रहेँ। किनकि मैले देखेको छु— क्यान्सर केवल एउटा कोषको विद्रोह मात्र होइन रहेछ; यो रोगको हावाले छुनेबित्तिकै बिरामीदेखि परिवार, समाज र राज्यसम्म सबैतिर नाफा-घाटाको एउटा अदृश्य बजार सुरु भइसक्दो रहेछ।आखिर व्यापार भनेको के हो? व्यापार भनेकै नाफाको खेल हो। बजारमा सय रुपैयाँ पर्ने ताजा फलफूललाई छाडेर अलिकति बिग्रेको, बासी सामान पचास रुपैयाँमा किनेर कसैले घर ल्याउँछ र आफूलाई पचास रुपैयाँ फाइदा भएको ठान्छ भने— के त्यो व्यापार होइन? स्वास्थ्यको मूल्यमा गरिएको त्यस्तो नाफा अन्ततः जीवनकै घाटा बनिदिन्छ।यदि मेरो यो अभियानलाई पनि कसैले व्यापार नै देख्छ भने, म गर्वसाथ स्वीकार्छु— हो, म पनि यहाँ एउटा व्यापार गरिरहेको छु! तर मेरो नाफा पैसा होइन; मेरो नाफा त क्यान्सरको चक्रव्यूहमा फसेका परिवारहरूलाई यसका मानसिक, पारिवारिक, सामाजिक, आर्थिक र वैज्ञानिक पाटोहरूबारे सुसूचित गराउनु हो। मेरो यो अक्षर-यात्राले यदि एउटै मात्र परिवारलाई पनि अज्ञानताको खाडलमा खस्नबाट जोगाउन सक्यो भने, त्यही नै मेरो जीवनको सबैभन्दा ठूलो नाफा हुनेछ।

आज यही शृङ्खलालाई म अलिक फरक कोणबाट, अझ गहिरो गरी खोतल्ने प्रयास गर्दैछु।क्यान्सर कुनै एउटा जात, भूगोल वा धर्मको सीमाभित्र कैद छैन; यो त लाखौँ घरको दैलोमा बिनासूचना बज्रपात बनेर खसेको छ। विभिन्न आस्था, संस्कार र चेतनाका मानिसहरू यो अग्निपरीक्षाबाट गुज्रिरहेका छन्। तर, यो रोगसँग जुध्ने क्षमता, ल्याकत र यसलाई हेर्ने दृष्टिकोण भने मानिसपिच्छे फरक छ। अस्पतालको चिल्लो भुइँ, अत्याधुनिक मेसिन वा नामी डाक्टरको उपस्थिति मात्रै निको हुने पूर्ण प्रत्याभूति होइन। सबैभन्दा पहिलो औषधि त बिरामी र उसको परिवारको चेतनामा उम्रिनुपर्छ। जबसम्म हाम्रो आफ्नै विवेक ब्यूँझिँदैन, तबसम्म नसा-नसामा बग्ने विज्ञानको अचूक औषधिले पनि आफ्नो पूर्ण सामर्थ्य देखाउन सक्दैन। औषधि त केवल बीउ हो, त्यसलाई जीवन बनाउन सचेतनाको उर्वर माटो चाहिन्छ। हामी कसरी रोगसँगै व्यापार गरिरहेका छौँ त?समयको नदीमा सात महिनाअघि बगेको एउटा सत्य घटना आज म यहाँहरूमाझ ऐनाजस्तै छर्लङ्ग पार्न चाहन्छु।पहिलो किमोको प्रहारपछि हामीलाई १४ दिन ओरल (मुखबाट खाने) किमो लिने र बाँकी ६ दिनको विश्रामपछि KFT, LFT, CBC, RBC लगायतका केही रगतका महत्त्वपूर्ण परीक्षणहरू गरेर मात्र अर्को चरणमा प्रवेश गर्न भनिएको थियो। हामीले नियम पालना गर्‍यौँ, दोस्रो किमो पनि सकियो। त्यसपछि हामी एउटा नयाँ फाइल छातीमा च्यापेर घर फर्कियौँ।१४ दिनको त्यो औषधि-यात्रा पूरा भयो। ६ दिनको अन्तरालपछि हामी फेरि त्यही अस्पतालको ढोकामा पुग्यौँ, जहाँ आशा र त्रास सँगसँगै सास फेरिरहेका हामी, तर जब मैले फाइल पल्टाएर हेरेँ, त्यहाँ डाक्टरको प्रेस्क्रिप्सनमा केवल एउटा मात्र परीक्षण लेखिएको रहेछ— ‘CBC’।मैले अलिकति अचम्म मान्दै श्रीमतीतिर हेरेर भनेँ, “लौ हेर त, आज त रगतको यो एउटा मात्रै जाँच रहेछ!” उनको अनुहारमा थकानबीच पनि एउटा अनौठो सन्तोषको रेखा दौडियो, “ल राम्रै भएछ, केही पैसा जोगिने भयो।”म बिल काउन्टरको लामो लाइनमा उभिएँ। लाइनमा अघि बढ्दै गर्दा मेरो मनको भित्री कुनामा एउटा प्रश्नले च्वास्स घोच्यो। डाक्टरले त्यो दिन कम्प्युटरमा पुरानो फाइल हेर्दै हतार-हतार रि-टाइप गरिरहेको दृश्य मेरो आँखा अगाडि नाच्यो। मानिस नै हुन्, कम्प्युटरको किबोर्डमा औँलाहरू अल्मलिए होलान्, केही परीक्षण छुटे होलान्!मेरो मनले भन्यो— “शरीरबाट तान्ने त्यही रातो रगतको थोपा त हो, त्यसैबाट सबै जाँच हुने त हो। ६ हजार रुपैयाँ बढी खर्च होला, तर जीवनको सुरक्षाभन्दा ठूलो त्यो छ हजारको नोट पक्कै होइन।”मैले आफ्नै मनको त्यो संशयलाई जित्न दिइनँ। काउन्टरमा फाइल बुझाउँदै मैले दृढ स्वरमा भनेँ, “डाक्टरसाबले यहाँ CBC मात्र लेख्नुभएछ, तर किमोभन्दा अगाडि गरिने कलेजो र मिर्गौलालगायतका ती सबै नियमित परीक्षणहरू यहाँ थपिदिनुस्।” काउन्टरका कर्मचारीले बिल काटिदिए, हामि रसिद लिएर रगतको नमुना निकाल्न गयाै।जब रिपोर्ट हातमा पर्‍यो र हामी डाक्टरको कोठामा छिर्‍यौँ, तब छाँगाबाट खसेजस्तै भयो— रिपोर्टले स्पष्ट देखाउँदै थियो, कलेजो (Liver) मा गम्भीर समस्या देखिइसकेको रहेछ!एकछिन सोच्नुहोस् त, यदि त्यो दिन मैले फाइलमा लेखिएको आदेशलाई नै अन्तिम सत्य मानेको भए? श्रीमतीले भनेझैँ ‘पैसा जोगियो’ भन्ने त्यो क्षणिक सुखमा रमाएर केवल CBC मात्र गराएर हिँडेको भए? त्यो ६ हजार बचाउनु पनि त हाम्रो तर्फबाट गरिएको एउटा अदृश्य ‘व्यापार’ नै हुन्थ्यो। यदि हामीले त्यो व्यापार रोजेको भए, के डाक्टरले कलेजो जोगाउने औषधि लेखिदिन्थे? अहँ, किमार्थ दिने थिएनन्! किनकि उनीहरूका अगाडि त्यो रिपोर्ट नै पुग्ने थिएन। त्यो मानवीय त्रुटि थियो, तर त्यो सानो त्रुटिको पछाडि हामीले ‘खर्च जोगाउने’ लोभमा आँखा चिम्लिदिएको भए कत्रो ठूलो दुर्घटना निम्तिन्थ्यो होला?

हामी आफ्नै प्रियजनको श्वाससँग, आफ्नै जीवनको मूल्यसँग केही हजार रुपैयाँको मोलमोलाइ गरिरहेका हुन्छौँ। हामी बिरामीको शरीरलाई होइन, पर्सको मोटाइलाई प्राथमिकता दिन्छौँ। यो कस्तो विडम्बना? क्यान्सरजस्तो महाव्याधिसँग लड्दा पनि हामी भित्रभित्रै खर्च बचाउने लोभको व्यापार गरिरहेका हुन्छौँ। फेरि याे पढिरहदा तपाइलाइ लाग्दाे हाे तँ धनी छस र पाे भन्ने यहाहरूलाइ अवगत गराए म कुनै धनी हैन एउटा सामान्य मानिस हुँ जुन दिन भारतमा उपचार गर्न भनेर साेचेकाे थिए त्याे दिन मेराे एकाउन्ट देखि खल्ती सम्म कुल रकम रू३५०० मात्र थियाे । फेरि भन्नुहाेला अनुदान लिइस हाेला अाज सम्म मैले मेराे श्रीमतीकाे प्राण जाेगाउन अनुदान पनि लिएकाे छैन र लिन पनि नपराेस । फेरि भन्नु हाेला कमाइ धेरै हाेला हैन कमाइकाे कुरा गर्नु हुन्छ भने पेटपाल्ने काम गर्ने मान्छे मात्र हुँ । हाे मैले उपचार गर्न साथिहरू संग रिन लिएकाे छु, जिवनभर कमाएकाे घन बेचेको छु,विश्वास गर्ने मान्छे कमाएकाे छु र विश्वास बेचेको छु,कसैलाइ २ वर्षमा दिउला भनेकाे छु कसैलाइ ३ वर्षमा अनि कति सहकारिबाट रिन लिएर दैनिक बुझाइरहेकाे छु । मैले कम खर्च गर्न र गराउन बढि बिचार गर्नु पर्ने थियाे तर गरिन किनकी मैले अध्ययन चिन्तन मनन गरेर मात्र अावस्यक र अनवास्यक भनेर छुटाएर खर्च गर्छु । खैर यसमा प्रवेश पनि नगरि सिधि बाकि कुरा प्रष्ठ पार्न तिर लागाै ।

मानौँ, यो शरीरमा अचानक रोगको काँढा रोपियो। म परम्परा, संस्कृति र आस्थाको नदीमा नुहाएको एउटा साधारण मान्छे। शरीरभित्र कोषहरू अनियन्त्रित भएर आफ्नै मासु खाइरहेका छन्, तर मेरो मनको कम्पास विज्ञानतिर होइन, शङ्का र अदृश्य डरतिर घुम्छ। म सोच्न थाल्छु— कसको आँखा लाग्यो? कसले डाहा गर्यो? कुन छिमेकीले बिगार गरिदियो? जीवन र मरणको दोभानमा उभिएर म अस्पतालको ढोका होइन, धूपको धुवाँले निसास्सिएको झाँक्रीको अँध्यारो कोठा रोज्छु।त्यहाँ चामलका गेडा फ्याँकिन्छन्, सिन्दूर र कालो तिलको नाटक रचिन्छ। झाँक्रीले मेरो भयलाई आफ्नो आम्दानी बनाउँछ र मैले  सुन्न चाहेकै कुरा भनिदिन्छ- "तिमीलाई कसैले बाँधेको छ।" म आफ्नै मृत्युको घडीलाई पछाडि धकेल्दै उल्टा खाने र जडीबुटीको झोलमा जीवन खोज्न थाल्छु। महिनाहरू बित्छन्। भित्रभित्रै रोगको डढेलोले शरीरको हरियाली खरानी बनाइसक्छ। जब चेत खुल्छ, तब धेरै ढिलो भइसकेको हुन्छ। त्यो झाँक्रीले त केवल मौका छोपेको थियो, तर आफ्नो अमूल्य सास र समय लुटेर उसलाई सुम्पिने पहिलो अपराधी त म आफैँ थिएँ। मैले नै अाफ्नै क्यान्सरमा व्यापार गराइदिएकाे थिए जुन मलाइ नै थाहा छैन म मेराे क्यान्सर राेगकाे एउटा व्यापारी थिए, व्यापार बढाइदिने ।अनि फेरि अर्को पाटो हेरौँ। मानौँ, त्यो रोग मेरो जीवनसङ्गिनीको शरीरमा पलायो। जसको हाँसोले घर उज्यालो हुन्थ्यो, उसको आँखामा आँसुको पर्दा लाग्दा म आतुर हुन्छु। तर त्यो आतुरतामा विवेक हराउँछ। म कुनै कथित ‘चमत्कारी’ वैद्य वा चिल्ला कुरा गर्ने व्यापारीको शरणमा पुग्छु। उसले मिठा शब्दको जालो बुन्छ— "अस्पताल गए त शरीर चिर्छन्, किमोले मान्छे सिध्याउँछ, मेरो यो अचुक बुटीले जरादेखि नै क्यान्सर उखेलिदिन्छ।" सस्ताे पनि पर्छ । म मंहगाेकाे डरले सस्ताे भनेर यहा खर्च जाेगाउने व्यापार गर्छु ।

श्रीमतीको चेतनाले भन्छ, "यहाँ नबसौँ, अस्पताल जाऔँ।" तर मेरो पुरुष दम्भ, मेरो अविवेकी जिद्दी अगाडि सर्छ— "तिमीलाई केही थाहा छैन, चुप लाग! ऊ असल मान्छे हो, उसले सन्चो बनाउँछ।" तिम्राे उपचार गर्नलाइ के मैले घर बेच्ने ? त्यहा पनि उपचार नै गर्ने हाे यहा पनि उपचार नै गर्ने त हाे कमसेकम घर त बेच्नु पर्दैन भनेर म सस्ताेमा उपचार हुने  साेचमा धेरै खर्चा नहुने साेचमा व्यापार गर्छु ।  म आफ्नै जिद्दीको काँधमा राखेर उसको जीवनको अन्तिम आशा पनि लिलाम गरिदिन्छु। श्रीमतीको अधिकार, उसको उपचार पाउने वैज्ञानिक हक खोसेर मैले उसलाई आफ्नै हातले बिस्तारै मृत्युको मुखमा धकेलिरहेको हुन्छु। यो बाहिरियाले गरेको शोषण होइन, आफ्नै परिवारभित्र विश्वासको खोल ओढेर गरिएको सबैभन्दा क्रूर लुट हो। अज्ञानता हाे । अशिक्षा हाे । क्यान्सर आज केवल कोषहरूको अनियन्त्रित विभाजन मात्र रहेन; यो त भ्रम, आस्था र जिद्दीको ठूलो बजार बनेको छ। जहाँ हामी आफ्नै अज्ञानता बेच्छौँ, आफ्ना अतार्किक विचारहरू बेच्छौँ र त्यसको साटो आफ्ना प्रियजनको जीवन गुमाउँछौँ। यहा हामि हाम्राे विचार बेच्ने व्यापार पनि गर्छाै ।

पहाडको छाँगाजस्तै निर्मल हुनुपर्ने हाम्रो चेतना जब अन्धविश्वासको लेदोले धमिलिन्छ, तब हामी भाग्यलाई दोष दिएर पन्छिन्छौँ। तर सत्य के हो भने, रोग प्रकृतिले दिएको चुनौती हुन सक्छ, तर समयमै उपचार नगरेर आफैँलाई सिध्याउनु हाम्रो आफ्नै चेतनाको आत्महत्या हो। जबसम्म हामी विश्वासको नाममा अज्ञानता र परम्पराको नाममा जिद्दीलाई अँगाली रहन्छौँ, तबसम्म यो आत्मलुटको शृङ्खला रोकिने छैन। क्यान्सरसँगको लडाइँ केवल अस्पतालको औषधिले मात्र जितिँदैन, त्योभन्दा पहिला मनभित्र जकडिएका भ्रमका झाडीहरूलाई आफ्नै विवेकको बन्चरोले काट्न सक्नुपर्छ।