जीवन रक्षाको क्रन्दन र स्वास्थ्य माफियाको चक्रव्यूह | बिक्रम न्यौपाने
2026-10-07
मानव भएर धर्तीमा पाइला टेक्नु नै प्रकृतिको सबैभन्दा उन्मुक्त उत्सव हो। हावाको कुनै सीमा हुँदैन, नदीको कुनै बन्धन हुँदैन; ठीक त्यसरी नै श्वास फेर्न पाउनु र स्वतन्त्र बाँच्न पाउनु प्रत्येक प्राणीको जन्मसिद्ध अधिकार हो। जब कुनै घरको दैलोमा रोगरूपी कालो बादल मडारिन्छ, तब जीवन बचाउन मानिस जहाँसुकै पुगोस्— त्यो उसको नैसर्गिक तृष्णा हो। तर विडम्बना, ज्ञानको क्षितिज नदेखेको हाम्रो समाज रोगले थलिएर अन्तिम श्वास गनिरहेको बिरामीलाई गाउँमै मर्न बाध्य पार्ने सङ्कीर्णतालाई ‘स्वाभिमान’ ठान्छ, र परदेशको ढोका घच्घच्याउन पुग्दा ‘पैसाको फुर्ती’ देख्ने अन्धो चश्मा पहिरिन्छ। चेतनाको यस्तो हिउँ जमेको समाजमा बाँच्नु आफैँमा एउटा त्रासदी हो।
मैले पराइ भूमि दिल्लीको अस्पतालका गल्लीहरू चहार्दा एउटा यस्तो दृश्य देखेँ, जसले मेरो छातीभित्र देशको लाचारी सम्झेर चिसो सन्नाटा छाइदियो। त्यहाँ युद्धले क्षतविक्षत भएको अफगानिस्तानका आँसुहरू थिए, बङ्गलादेशका सुस्केराहरू थिए, र सँगै थिए छिमेकी भुटानका नागरिकहरू। राजीव गान्धी क्यान्सर अस्पतालको त्यो विशाल प्राङ्गणमा भुटान सरकार आफ्ना नागरिकका लागि एउटा न्यानो अभिभावक बनेर उभिएको थियो। उपचारमा सहुलियत दिलाउन, अस्पतालको चक्रव्यूह सुल्झाउन र बिरामीको गाँस-बास जुटाउन त्यहाँ भुटानी सरकारी कर्मचारीहरू नै खटिएका थिए। त्यो दृश्य देख्दा मभित्रको नागरिक मन रोयो— “मेरो देशको सरकार कहाँ छ? के केवल रेमिट्यान्सको रगत पसिना सोहोर्न मात्रै जन्मेको हो मेरो राज्य?” आफ्ना जनताको श्वास जोगाउन पराइ भूमिमा हात फैलाउनुपर्दा एउटा कूटनीतिक छायाँसमेत नदिने सरकारबाट अरू के आशा राख्नु?
हुन त यहाँ कागजी पानाहरूमा क्यान्सर अस्पतालका भव्य महलहरू खडा गरिएका छन्, डाक्टरहरूलाई समुद्रपार फेलोसिपका नाममा उडाइएको छ, र प्रविधिको ढ्वाङ पनि पिटिएकै छ। तर यथार्थको ऐना कति कुरूप छ भने, एउटै छानामुनि रोगको पूर्ण निदान कहिल्यै भेटिँदैन। अस्पतालभित्र छिरेपछि बिरामी कुनै मानिस रहँदैन, ऊ त केवल नाफाखोरहरूको प्रयोगशाला बन्छ। केही चिकित्सक र अस्पताल प्रशासनको मिलेमतोमा बाहिर कुकुर-डालोझैँ खोलिएका निजी ल्याबहरूको लगानी उठाउन बिरामीलाई रिफरको नाममा लखेटिन्छ। डर र आत्मीयताको विषालु चास्नी घोलेर यहाँका अस्पतालहरूले बिरामीलाई जुकाझैँ चुसिरहन्छन्। जबसम्म नाडीमा रगत र खल्तीमा अन्तिम सुको बाँकी रहन्छ, ती जुकाहरू टाँसिरहन्छन्; रगत सकिएपछि आफैँ फुत्त भुइँमा खस्छन्।
यो देशमा क्यान्सर लागेपछि मान्छे मर्छ भन्ने यस्तो भयावह भाष्य स्थापित गरिएको छ कि, अस्पतालको चरम लापर्बाहीले बिरामी ढल्दा पनि परिवारले न्याय खोज्ने आँट गर्दैन। सर्वस्व गुमाएर रित्तो भएको परिवारले आफ्नै मान्छेको लास बुझ्दा बरु एउटा अनौठो त्राण महसुस गर्छ। यो सामान्य मृत्यु होइन, यो लापर्बाहीको बर्बर शृङ्खलाले घटाएको योजनाबद्ध हत्या हो! बिरामीको अज्ञानता, कुरूवाको लाचारी, अस्पताल प्रशासनको लोभ, डाक्टरको गैरजिम्मेवारी, औषधि कम्पनीको धन्दा र नियमनकारी निकायको निद्रा— यी सबै मिलेर दिनहुँ कयौँ निर्दोष प्राणको बलि चढाइरहेका छन्। मेरै छातीमा पनि महाराजगञ्जको ल्याबले गलत रिपोर्टको काँडा रोप्यो, अनि ग्रान्डीका ग्यास्ट्रोलोजिस्टको अन्धो प्रक्रियाले मेरी प्यारीलाइ मृत्युको मुखै नजिक पुर्यायो। तर प्रकृतिको आफ्नै न्याय हुँदो रहेछ; सम्यक डायग्नोस्टिकको इमानदार परीक्षण र ग्राण्डी हस्पिटलकै अर्का डा. ए.के. कश्यपजस्ता निष्ठावान् चिकित्सकको सुझबुझले मैले श्रीमतीलाइ कालको मुखबाट फर्काउन सफल भएँ।
लुटको यो महाजाल अस्पतालको शय्यामा मात्र सीमित छैन, आकाशको बाटोमा पनि फिँजिएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले क्यान्सर बिरामीलाई शतप्रतिशत र कुरुवालाई पचास प्रतिशत छुटको दयालु मुखुण्डो भिरेर व्यापार गर्छ। सामान्य समयमा दुईतर्फी ३६ देखि ४० हजार पर्ने टिकट, छुटको नौटंकी र भ्याटको जालो बुनेर ४४ हजारमा लिलाम गरिन्छ। दोस्रो पटक जाँदा त झन् बाहिरभन्दा २० प्रतिशत महँगो पर्न जान्छ। चाडपर्वमा बाहेक यो कथित छुट केवल आँखामा छारो हाल्ने भ्रमबाहेक केही होइन।
त्यसभन्दा पनि भयानक अपराध त औषधिको अन्धकार कोठरीमा मौलाइरहेको छ। बजारबाट म्याद सकिएका क्यान्सरका औषधिहरू कम्पनीमा फिर्ता लगिन्छन्, र एउटा बन्द कोठाभित्र स्पिरिटले त्यो अन्तिम मिति पुछेर नयाँ मितिको छाप लगाइन्छ। त्यो म्याद थपिएको औषधि होइन, सोझा बिरामीको श्वासको मिति नै टिप्ने कालको पासो हो! क्यान्सरका संवेदनशील औषधिमा आफ्नै देशलाई आत्मनिर्भर बनाउनु त कता हो कता, म्याद गुज्रिएका विष बेच्ने राक्षसहरूमाथि सरकारको छड्के अनुगमनसम्म पुग्दैन।
यति मात्र कहाँ हो र, यहाँका केही निजी अस्पताल र विदेशका व्यापारी अस्पतालहरूबीच बिरामी किनबेचको अदृश्य सिन्डिकेट चल्छ। कमजोर, डराएको र धनी बिरामी देख्नासाथ कमिसनको लोभमा ‘उता राम्रो हुन्छ’ भन्दै परदेश धकेलिन्छ। अर्कोतिर सामाजिक सञ्जालको भर्चुअल संसारमा ‘चामत्कारिक आयुर्वेदिक उपचार’को भ्रम छरेर जीवन खोजिरहेकाहरूको अन्तिम कौडी लुट्ने ठगहरूको बिगबिगी छ।
राज्य भने सिंहदरबारको पर्खालभित्र लाचार, दृष्टिविहीन र बहिरो बनेर निदाइरहेको छ। नागरिकको सासको मूल्यमा चलिरहेको यो बजारिया खेल कहिलेसम्म? जबसम्म जीवन रक्षाको यो क्रन्दनले राज्यको कान फुट्दैन, तबसम्म हामीले यसरी नै आफ्ना प्रियजनहरूलाई अस्पतालका जुकाहरू र औषधिका राक्षसहरूको जिम्मा लगाइरहनुपर्नेछ। यी त मैले भोगेका र देखेका केही प्रतिनिधि घाउहरू मात्र हुन्, यो बेथितिको महासागरमा अझै कति व्यथाहरू तैरिरहेका छन्, समयको पानामा बिस्तारै उघारिँदै जानेछन्।
लेखकः बिक्रम न्याैपाने