क्यान्सर उपचारको चक्रव्यूह: बिरामी कसरी लुटिन्छन् र बच्ने उपाय (एक केयरटेकरको प्रत्यक्ष भोगाइ)
क्यान्सर बिरामीलाइ कसरी लुटिन्छ ? कसले लुटछन ? हाम्रै वरपरका केही तीता यथार्थ र बच्ने उपाय
क्यान्सर— केवल एउटा रोग मात्र होइन, यो मन, आत्मा र सम्बन्धको महासागरमा उठ्ने यस्तो आँधी हो, जसले सबैभन्दा दह्रो मान्छेको जग पनि हल्लाइदिन्छ। नेपालका गल्लीहरू हुन् वा भारतका विशाल अस्पतालका प्राङ्गण, जब आफ्ना प्रियजनको जीवन बचाउन हामी डाक्टरका हातलाई ईश्वरको हात ठानेर पुज्न पुग्छौं, त्यति नै बेला हामीले बिर्सनु हुँदैन— त्यो मानवीय ईश्वरताभित्र बजारको एउटा अजङ्गको दाँत पनि लुकेको हुन्छ।
डाक्टरको कलमबाट निस्किएको प्रेस्क्रिप्सन कुनै साधारण कागज होइन, त्यो जीवनको श्वास फर्काउने मानचित्र हो। तर विडम्बना, बजारमा जीवनलाई पनि तौलिने तराजूहरू बसेका छन्। जब हामी औषधिको काउन्टरमा उभिन्छौं, त्यहाँ 'उस्तै नाम' भएको तर मूल्य आधा कम भएको अर्को बोतल अघि सारिन सक्छ। सम्झनुहोस्, हिरा र काँच टाढाबाट उस्तै चम्किन्छन्, तर प्रकाशको किरणलाई हिराले मात्र इन्द्रेणी बनाउन सक्छ, काँचले धोका दिन्छ।
विशेष गरी मुखबाट खाइने किमोथेरापी (Oral Chemo) मा हुनुहुन्छ भने, एउटा कम्पनीको गुणस्तर र त्यसको सही 'एमजी' ले मात्र शरीरभित्रको आगोलाई निभाउन सक्छ। सस्तोको नाममा मान्यता नपाएका वा फरक कम्पनीका औषधि रोज्नु भनेको युद्ध मैदानमा आफ्नो ढाल फालेर परालको छाता ओढ्नु जस्तै हो। यदि सिफारिस गरिएको औषधि बजारमा फेला परेन भने, आफैं वैद्य नबन्नुहोस्; सिधै जीवनदाता डाक्टरसँगै परामर्श लिनुहोस्। किनकि क्यान्सरसँगको लडाइँमा दोस्रो मौका विरलै मिल्छ।
अस्पतालको डे-केयर— जहाँ पलङमा लडिरहेको बिरामीको नसाभित्र थोपा-थोपा जीवन खन्याइन्छ। ती आईभी किमोका बोतलहरू केवल तरल पदार्थ होइनन्, कयौँ परिवारका खेतबारी, पुख्र्यौली सम्पत्ति र पसिनाको मूल्य हुन्। त्यस्तो संवेदनशील ठाउँमा जब तपाईं महँगो किमो किनेर मिक्सिङका लागि पठाउनुहुन्छ, आफ्नो आँखालाई कहिल्यै निदाउन नदिनुहोस्। त्यो बोतलमा आफ्नै हातले चिनो लगाउनुहोस्, हस्ताक्षर गर्नुहोस्। मिक्सिङ भएर आइसकेपछि त्यो रित्तो बोतल फिर्ता माग्ने आँट राख्नुहोस्। किनकि मानवीय संसारमा सबै सेतो कोट लगाउनेहरू साधु हुँदैनन्। त्यहाँ मानवीय त्रुटिको सम्भावना पनि रहन्छ, र कहिलेकाहीँ मान्छेभित्र सुतेको लोभको राक्षस ब्युँझिएर अमृतजस्तो महँगो औषधिलाई खल्तीमा हाली बिरामीको नसामा सादा पानी घोल्ने दुस्साहस पनि गर्न सक्छ। हामीले अस्पताललाई मन्दिर मानेर विश्वास त गर्ने हो, तर भगवान् कृष्णले झैं सतर्कताको सुदर्शन चक्र मनभित्र घुमाइरहनुपर्छ।
उपचारका ती कठिन दिनहरूमा हामी एक्लो महसुस गर्छौं। हस्पिटलका गल्लीमा महिनौं बिताउँदा मनले सहारा खोज्छ, कसैको मीठो बोली अमृतजस्तै लाग्छ। तर याद रहोस्, जहाँ बढी प्रकाश हुन्छ, छाया पनि त्यहीँ गहिरो बन्छ। अस्पतालवरपर मुस्कुराउँदै नजिकिने प्रत्येक मान्छेको अनुहारमा कुनै न कुनै स्वार्थको नकाव हुन सक्छ— कसैलाई आर्थिक कमिसनको लोभ, कसैलाई बिरामीको लाचारीमाथि मानसिक प्रभुत्व जमाउने तृष्णा। आफन्तत्वको खोजीमा यति धेरै पग्लिएर नबग्नुहोस् कि अरूको स्वार्थले तपाईंको आत्मसम्मान र सर्वस्व बगाएर लैजाओस्। अस्पतालको त्यो अस्थायी बासमा मानिसहरूसँग न्यानोपन बाँड्नुहोस्, तर आफ्नो स्वाभिमान, गोपनियता र निर्णय क्षमताको वरिपरि एउटा बलियो 'लक्ष्मण रेखा' आफैं कोर्नुहोस्। परोपकार र व्यक्तिगत स्वार्थको बीचको त्यो मसिनो धागोलाई चिन्न सक्नु नै जीवन रक्षाको पहिलो पाठशाला हो।
जीवन जोगाउनु केवल औषधिको डोज पुर्याउनु मात्र होइन, बजारको आँधी, मान्छेको लोभ र स्वार्थको चक्रव्यूहबाट आफ्ना प्रियजनलाई सुरक्षित किनारमा उतार्ने एउटा सचेत तपस्या पनि हो।
लेखकः केयरटेकर बिक्रम न्याैपाने
क्यान्सर आफैँमा एउटा ठूलो बज्रपात हो। जब परिवारको कुनै सदस्यलाई यो रोगको शङ्का मात्र लाग्छ, सारा घरपरिवारको होस गुम्छ, मानिस मानसिक र आर्थिक दुवै रूपमा गलिसक्छ। तर, यही विवशता, डर र छटपटीको मौका छोपेर बिरामीलाई लुट्ने, गलत बाटो देखाउने र अमूल्य जीवनसँगै खेलबाड गर्ने गिरोहहरू हाम्रै वरपर सक्रिय छन्। क्यान्सरको उपचारमा लुट यत्रतत्र सर्वत्र यसरी व्याप्त छ कि मानौँ यहाँ नलुटिई उपचार पाउनु नै असम्भव जस्तै भइसकेको छ।
साँच्चै भन्ने हो भने लुटिने रोगकै अर्को नाम क्यान्सर भएको छ। यहाँ छुट दिने बहानामा बिरामीलाई एउटा जालबाट अर्को पासोमा पारिन्छ, पहुँच र सम्पर्क जोड्ने नाममा सोझा बिरामीको ढाड सेकिन्छ। टिकट बेच्ने र सहयोगको खोल ओढेर मानवीय भावनामाथि व्यापार चलाइन्छ भने कतिपय संघसंस्थाहरू समेत दुःखीको आँसुलाई कमाउ धन्दा बनाउन पछि पर्दैनन्। अस्पताल वरिपरि महिला एटेन्डेन्टसँग दुख्खकाे कुरा गर्दै चिया पिउदै पनि याैवनकाे दाउ हेरेर लुट्ने खेल चल्छ, कोठा भाडा दिने नाममा आफ्नै नेपालीहरूले कमिसनमा लुट गर्छन्। जसको आर्थिक अवस्था कमजोर छ, उसलाई अझ बढी निचोरिन्छ; पैसाको धाक देखाउने त झन् छानीछानी लुटिन्छन्। नेपाली हाे सान देखाउने स्वभाव हुन्छ यस्ता शान देखाउनेलाइ त झन मुसारि मुसारि लुटिन्छ, चुपचाप पीडा सहने सोझा पनि लुटिन्छन् र म जस्ता कराउने र आवाज उठाउनेहरू पनि कुनै न कुनै मोडमा लुटिएकै हुन्छन्। अझ 'शतप्रतिशत निको पार्छौँ' भन्दै वैज्ञानिक रूपमा अप्रमाणित आयुर्वेदिक र परम्परावादी औषधिको भ्रम छरेर मानिसको अन्तिम आशा र विश्वासमाथि खुलेआम डकैती गरिन्छ।
यहाँ को, कहिले र कहाँ लुटिन्छ भन्ने कुरा आफू लुटिएर सर्वस्व गुमाइसकेपछि मात्र थाहा हुन्छ। यो लुटको जालो यति विशाल र भयावह छ कि यसको फेहरिस्त खोतल्न हजार मुख भएका शेषनागले पनि सक्दैनन्, म त जाबो एउटा मुख भएको सामान्य मान्छे मात्र ले के नै सकाैला तैपनि यी लुटेराहरूको चक्रव्यूहबाट जोगिनका लागि म आफ्ना भोगाइहरू घुमाउरो तर प्रस्ट रूपमा राख्दै जानेछु, बाँकी आफैँ मनन गर्नुहोला। अन्य बाँकी पाटोहरू म क्रमशः शृङ्खलाबद्ध रूपमा सार्वजनिक गर्दै जानेछु।
याे कुनै सुनेकाे भरमा लेखिएको कथा होइन, मेरो आफ्नै प्रत्यक्ष भोगाइ र आँखा अगाडि देखेको कठोर यथार्थ हो। आजभन्दा झन्डै एक वर्षअघि श्रीमतीलाई पेटसम्बन्धी सामान्य समस्या देखिएपछि हामीले काठमाडौँको धापासीस्थित ग्राण्डी हस्पिटलको ओपिडीमा ग्यास्ट्रोलोजिस्टलाई देखायौँ। रोग ठ्याक्कै पत्ता लाग्न ३ महिना लाग्यो। त्यसको १५ दिनमै हामी दिल्ली पुग्यौँ, उपचारका सबै चरण पूरा गरेर फर्किएको पनि ३ महिना भयो। अहिले उहाँको स्वास्थ्य राम्रो छ, औषधि छुटिसकेको छ र आउँदो दसैँमा हामी नियमित फलोअपका लागि जाँदैछौँ।
यो यात्रामा मैले अस्पतालका करिडोरहरूमा जे देखेँ र भोगेँ, त्यसबाट अरू कसैले पनि यसरि लुटिने चक्रबाट दुःख नपाओस् भनेर केही गम्भीर कुराहरू यहाँ राख्दैछु।
१. नेपाली अस्पतालभित्रै कमिसनको प्रपञ्च र बाहिरका ल्याब------
अस्पतालबाटै राम्रो तलब-पारिश्रमिक लिने केही कर्मचारी र डाक्टरहरूको मिलेमतो बाहिरका निजी ल्याबहरूसँग साँठगाठँ हुने रहेछ। अस्पतालमा उपलब्ध उच्चस्तरीय सेवा हुँदाहुँदै बिरामीलाई झुक्याएर "यहाँ धेरै महँगो छ, बाहिर फलानो ठाउँमा सस्तोमा हुन्छ" भन्दै पठाउने गरिन्छ। बिरामीको भलाइका लागि नभई कमिसन खान वा आफ्नै लगानी भएका ति ल्याबमा व्यापार बढाउन यस्तो नाटक रचिन्छ यसबाट विचार गरेर बचाै र सजक बनाै ति ल्यावहरू प्रमाणीत हुन हैनन सर्टिफाइड छन छैनन र नेपाल मेडिकल काउन्सिलकाे NMC सहितकाे परिक्षण गर्ने डाक्टरले नै रिभ्यु गरेका हाे हाेइनन , ति डाक्टर उपस्थिति भएर चेक भयाे वा कुनै सामान्य कर्मचारि यसमा निगरानि गराै प्रश्न गराै बुझाै अगाडी बढाै ।
२. 'सस्तो औषधि' को नाममा नक्कली र अवैध औषधिको कालोधन्दा------
सबैभन्दा डरलाग्दो खेल किमोथेरापीको औषधिमा हुन्छ। काठमाण्डाैकै एक क्यान्सर बिरामीको उदाहरण लिऊँ २१/२१ दिनमा किमो चढाउँदा एकपटकमा करिब ६५ हजार रुपैयाँ खर्च हुन्थ्यो। परिवार आर्थिक दबाबमा परेको मौका छोपेर केही कर्मचारी वा बाहिरी एजेन्ट सहानुभूति देखाउँदै नजिकिन्छन्: "हस्पिटलबाट नलिनुस्, म एउटा नम्बर दिन्छु, बाहिरबाट ल्याउँदा आधा सस्तो पर्छ।"
बजारमा लाखाै पर्ने औषधिलाई बाहिरबाट हजारमै मिलाइदिने प्रलोभन देखाइन्छ। तर ती औषधि कस्ता हुन्छन्?
-औषधि व्यवस्था विभाग मा दर्ता नभएका,
-अवैध रूपमा तस्करी गरिएका,
-गुणस्तरहीन वा नक्कली कम्पनीका।
किमोथेरापी भनेको शरीरमा दिइने एक सटीक र संवेदनशील रसायन हो। यदि त्यसको गुणस्तर सही छैन वा ओसारपसार गर्दा आवश्यक चिसो तापक्रम (Cold Chain) कायम राखिएको छैन भने, त्यसले क्यान्सर त मार्दैन नै, बिरामीको कलेजो र मिर्गौला स्थायी रूपमा फेल गराइदिन्छ। धेरैलाई लाग्छ बिरामी किमोले गर्दा बित्यो, तर वास्तविकता के हुन्छ भने बिरामी क्यान्सरले होइन, बाहिरको सस्तो र अवैध औषधिको विषाक्तता (Toxicity) ले ज्यान गुमाइरहेका हुन्छन्। याद राख्नुहोस्: दुई पैसा सस्तोको लोभमा परेर कहिल्यै पनि अस्पताल बाहिरका अनधिकृत एजेन्टबाट औषधि नकिन्नुहोस्। औषधि सधैँ आधिकारिक, अस्पतालकै फार्मेसी वा पूर्ण प्रमाणित ठाउँबाट मात्र लिनुहोस्। हरेक अाैषधी खरिद गर्दा विल बिजक अनिवार्य लिनुहाेला त्याे पनि प्यान विल नै ।
३. सीटी स्क्यान र गलत रिभ्युको चक्कर------
सीटी स्क्यान गर्ने कतिपय ठाउँहरूमा स्पष्ट रिपोर्ट नदिई, बारम्बार दोहोर्याएर स्क्यान गर्नुपर्ने बाहना बनाइन्छ। बिरामीलाई अनावश्यक रूपमा आर्थिक भार र मानसिक पीडा दिने यो अर्को माध्यम बनेको छ। मेरै केसमा पनि टुयुमर पलाएर क्यान्सर भइसक्दा पनि सिटिले पिप जमेकाे पिप २०५ मिलिलिटर छ भनेर गलत रिपाेर्ट बनाएर रेडियाेलाेजी गरेर पिप झिकियाे तर अफसाेच पिप भनेर पानी ३० एमएल मात्र अायाे अनि याे किन भनेर साेध्दा डाक्टर अाफै भन्नु हुन्छ याे कहिले काहि भने जस्तै हुदैन उडेर सुकेर पनि जान्छ भनेर गैर जिम्वेवारि जवाफ दिनुभयाे उक्त समय म मा अनुभव थिएन विश्वास गरे जव क्यान्सरकाे टियुमर भनेर थाहा भयाे र अर्काे हस्पिटल गए तब त्याे सबै प्रकृया नै गलत बाटाेकाे भएकाे थाहा भयाे याे सबै गलत रिभ्युका कारण हाे । याे गलत रिभ्यु दिने संस्था महाराजगञ्जकाे ल्याव हाे नाम राखिन यहा चै ।
४. क्यान्सर नै नभई क्यान्सर बनाइदिने 'फल्स पोजिटिभ' रिपोर्ट
अस्पतालको यात्रामा मैले भेटेका केही बिरामीहरूको कथा सुन्दा आङ नै सिरिङ्ग हुन्छ। ५ महिना अगाडी ललितपुर हरिसिद्धि निवासी एक म्यामसँग मेरो कुराकानी भयो। उहाँले मेरो पुरानो लेख तथा अनुभव सुनेर सल्लाह लिनुभएको थियो र गत दुइमहिना अगाडी दिल्ली जानुभयो। मैले उहाँलाई पुरानो बायोप्सीको स्लाइड साथमै लिएर जान भनेको थिएँ। दिल्लीमा पुनः परीक्षण गर्दा पत्ता लाग्यो— उहाँलाई क्यान्सर नै थिएन! तर नेपालमा क्यान्सर भएको भन्दै अपरेसन र किमोसमेत चलाइसकिएको रहेछ। नेपालकै नाम चलेका ल्याबहरूले सामान्य इन्फेक्सन वा मासु पलाएको अवस्थालाई पनि हतारमा "क्यान्सर भइसक्यो" भनेर रिपोर्ट दिने गरेका घटना छन्। चिकित्सा विज्ञानमा यसलाई 'फल्स पोजिटिभ' (False Positive) भनिन्छ। यस्तो हुनुका मुख्य तीन कारण छन्:
स्लाइडमा कोषहरू छुट्याउने विशेषज्ञ डाक्टरमा पर्याप्त अनुभव नहुनु। मेसिनको सरसफाइ नहुनु वा केमिकलको मात्रा नमिल्दा सामान्य कोष पनि क्यान्सरजस्तै देखिनु। विस्तृत र आधुनिक परीक्षण (जस्तै IHC Staining) नगरी सतही हेराइको भरमा हतार-हतार रिपोर्ट दिनु।
क्यान्सरका बिरामी र कुरुवाले अपनाउनै पर्ने सजगता
पहिलो रिपोर्टमै आत्तिएर शल्यक्रिया वा किमोको कागजमा हस्ताक्षर नगर्नुहोस्।
बायोप्सीको स्लाइड र ब्लक माग्नुहोस्: अस्पतालले बायोप्सी गरेपछि त्यसको 'ग्लास स्लाइड' र 'मोमको ब्लक (Paraffin Block)' बिरामीलाई दिनैपर्छ, त्यो तपाईंको कानुनी अधिकार र सम्पत्ति हो।
दोस्रो मत (Second Opinion) अनिवार्य लिनुहोस्: त्यो स्लाइड लिएर क्यान्सर रोग विशेषज्ञ प्याथोलोजिस्ट (Onco-pathologist) वा अन्य दुईवटा स्वतन्त्र र स्थापित ल्याबमा जाँच (Review) गराउनुहोस्। (हाम्रो आफ्नै केसमा पनि हामीले सम्यक डायग्नोस्टिक र दिल्लीका विज्ञहरूसँग दोहोरो परीक्षण गराएर ढुक्क भएपछि मात्र सर्जरीको निर्णय लिएका थियौँ।)
क्यान्सरमा समयको महत्त्व हुन्छ, तर गलत रोगको छिटो उपचार सुरु गर्नुभन्दा, सही रोग यकिन गर्न २ दिन ढिला गर्नु र २ पैसा बढी खर्च गर्नु लाख गुणा बुद्धिमानी हो।
क्यान्सर विरुद्धको लडाइँमा औषधिसँगै बिरामी र परिवारको चनाखोपन नै सबैभन्दा ठूलो ढाल हो। स्वास्थ्य सेवाको नाममा फैलिएको यो व्यापारिक चक्रव्यूहबाट जोगिन सधैँ प्रश्न गर्नुहोस्, बुझ्नुहोस् र रिपोर्टलाई दोस्रो मतको कसीमा घोटेर मात्र अगाडि बढ्नुहोस्।