Background Image

दिल्लीको 'राजीव गान्धी' मा क्यान्सर उपचार गराउँदा कति लाग्छ खर्च? सम्पूर्ण व्यावहारिक अनुभव

दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा उपचार, दर्ता प्रक्रिया, सोमबजारको बसाइ, खर्च र व्यवस्थापनबारे ९ महिनाको प्रत्यक्ष भोगाइ

जीवनको कुनै अप्रत्याशित मोडमा जब क्यान्सरजस्तो अनपेक्षित हुरी बज्रिन्छ, तब मानिसको भित्री संसार एकैपटक हल्लिन्छ। मेरो आसय आफ्नै देशको माटो छाडेर भारत नै कुद्नुपर्छ भन्ने किमार्थ होइन, तर नियति र परिस्थितिले जब सीमापारिको बाटो रोज्न बाध्य पार्छ, तब मनमा अनेक डर, संकोच र अन्योलका बादल मडारिनु स्वाभाविक हो। पराई देश, नौलो परिवेश र रोगको भारी—यी सबैका बीच जब आफ्नी जीवनसङ्गिनीको उपचारका खातिर मैले नयाँ दिल्लीको धर्ती टेकेँ, त्यसपछिका ९ महिना केवल अस्पतालका चिसो भित्तासँगको सङ्घर्ष मात्र रहेन, एउटा गहिरो जीवन-भोगाइ र साधना बन्यो। त्यही प्रत्यक्ष अग्निपरीक्षाबाट निथ्रुक्क भिजेर, सबै उपचार सफलतापूर्वक सम्पन्न गरी तीन महिनाअघि घर फर्किएपछि, आज यो अनुभवको सँगालो एउटा खुला किताबझैँ पस्कँदै छु, ताकि पहिलो पटक यो बाटो हिँड्ने जो-कोहीलाई सहारा मिलोस्।नयाँ दिल्लीको रोहिणीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर केवल अस्पताल मात्र होइन, क्यान्सर उपचारका दृष्टिले एसियाकै एउटा विशाल र अत्याधुनिक अध्ययन-अनुसन्धानको केन्द्र हो। गैर-नाफामूलक ट्रस्टद्वारा सञ्चालित भए पनि यसको स्तर र सुविधा उच्च कोटीको निजी अस्पतालसरह छ। यहाँ क्यान्सरको मात्र विशिष्टीकृत उपचार हुने भएकाले आधुनिक चिकित्साका सम्पूर्ण प्रविधि एउटै छानामुनि समेटिएका छन्। सबभन्दा ढाडसको कुरा, यहाँ आउन नेपालको कुनै पनि अस्पताल वा चिकित्सकको सिफारिस पत्र चाहिँदैन; जुनसुकै ठाउँमा गएर आफ्नो स्वास्थ्यको उपचार गराउन पाउने बिरामीको नैसर्गिक अधिकारलाई यहाँ सहर्ष स्वीकार गरिन्छ। यात्राका लागि राहदानी वा भिसाको झन्झट छैन, आफ्नो सक्कल नेपाली नागरिकता भए पुग्छ। तर एउटा कुरामा भने हेक्का राख्नैपर्छ—भारतमा हाम्रो राष्ट्रिय परिचयपत्रले पहिचानको मान्यता पाउँदैन, तसर्थ नागरिकता अनिवार्य साथमै हुनुपर्छ र बालबालिका भए जन्मदर्ता चाहिन्छ। नेपालमा गरिएका अन्तिम रिपोर्टहरू, क्यान्सर पुष्टि भएको बायोप्सीको ब्लक र स्लाइड, अनि सीटी स्क्यानका सीडीहरू कुनै अमूल्य धनजस्तै सँगै लिएर हिँड्नुपर्छ, जसले परीक्षणको दोहोरो आर्थिक भार मात्र घटाउँदैन, उपचारको यात्रालाई समेत द्रुत गति दिन्छ।

काठमाडौंबाट सुरु हुने यो यात्रा परिस्थितिले डोर्‍याएको एउटा कठिन साधना हो। विमानको टिकट सिजनअनुसार बाह्र हजारदेखि पैँतालीस हजारसम्म तलमाथि भइरहन्छ भने खर्च जोगाउन चाहनेका लागि सडकमार्ग पनि खुला छ। त्रिभुवन विमानस्थलबाट करिब डेढ घण्टाको उडानपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिँदा अशक्त बिरामीका लागि ह्विलचेयरको सहारा लिन सकिन्छ। १५–२० मिनेटको हिँडाइपछि पुगिने इमिग्रेसनमा एउटा ठेगाना फारम भर्नुपर्छ, जहाँ अस्पतालबाट मात्र पाँच मिनेटको दूरीमा रहेको 'रोहिणी सेक्टर-५, सोमबजार' लेख्नु सबभन्दा उत्तम हुन्छ। अधिकृतको प्रश्नमा उपचारका लागि आएको स्पष्ट र निर्धक्क जवाफ दिनुपर्छ। विमानस्थलको ४, ५ वा ६ नम्बर गेटबाट बाहिर निस्किएपछि देखिने प्रिपेड ट्याक्सी बुथबाट भारू सात सयदेखि नौ सयको टिकट काटेर करिब एक घण्टामा रोहिणीको सोमबजार पुग्न सकिन्छ। सडक मार्गबाट आउनेहरू पनि दिल्लीमा जहाँ ओर्लिए पनि मेट्रो वा क्याब समातेर चालीस मिनेटमै यहाँ आइपुग्न सक्छन्। यो यात्रामा बिरामीसँग धेरै मानिसको लर्को लाग्नुभन्दा एक जना चनाखो, शारीरिक रूपमा स्वस्थ र व्यवहार बुझ्ने कुरुवा हुनु नै बुद्धिमानी हुन्छ।सोमबजार टेकेपछि अगाडि नै कुनै महँगो होटल बुक नगरे पनि केही फरक पर्दैन। कुनै चियापसलमा थकाइ मारेर आफ्नै आँखाले हेर्दै भान्सा र एसीको सुविधा भएको सफा कोठा खोज्न सकिन्छ। बिरामीको सहजतालाई ध्यान दिएर सुरुमा दुई-चार दिनका लागि मात्र कोठा लिनु बुद्धिमानी हुन्छ, पछि अनुकूलता हेरेर थप्न वा सर्न सकिन्छ। यहाँ दैनिक भारू ६०० देखि १००० सम्ममा आरामदायी कोठाहरू सहजै पाइन्छन्। तर, यहीँनेर एउटा ठूलो व्यावहारिक सचेतना आवश्यक छ—सहयोगको मीठो आवरणमा नजिकिने नेपाली बिचौलिया तथा दलालहरूबाट जोगिनैपर्छ। आफ्नै दाजुभाइ ठानिएकाहरूबाट नेपाली नै ठगिएका अनेकौँ नमीठा दृश्यहरू मैले त्यहाँ देखेको छु। कोठा लिएपछि भान्साका लागि नुन, तेल, चामल, दाल सबै वरपरकै बजारमा पाइन्छ। साथै, नेपाली नागरिकता देखाएर करिब पाँच सय भारूमा तीन महिनाको स्थानीय सिमकार्ड लिन भुल्नु हुँदैन। यसले नेपालमा सीधा फोन नलागे पनि ह्वाट्सएपमार्फत परिवारसँग जोड्छ र अस्पताल प्रशासन वा चिकित्सकसँग आकस्मिक संवाद गर्ने बलियो पुलको काम गर्छ।

पैसाको सन्दर्भमा झोलामा नगदको भारी बोकेर हिँड्नुपर्ने जोखिम छैन। नेपालका बैंकका दुईवटा एटीएम कार्ड साथमा भए पर्याप्त हुन्छ। अस्पतालमा ती कार्डहरू निर्वाध स्वाइप हुन्छन् भने दैनिक एउटा कार्डबाट भारू पन्ध्र हजारसम्म निकाल्न सकिन्छ, जसमा प्रति कारोबार नेपाली दुई सयदेखि तीन सय पचास रुपैयाँसम्म मात्र शुल्क काटिन्छ।बिरामीलाई कोठामा विश्राम गराएपछि जब अस्पतालको ढोकाभित्र प्रवेश गरिन्छ, त्यहाँको प्रशासनिक संयन्त्र आफ्नै लयमा चलिरहेको भेटिन्छ। नेपालबाट लगेका सबै रिपोर्टको फोटोकपी बुझाएर भारू १,६०० तिरेपछि बिरामीको फोटो खिचेर सेन्ट्रल रजिस्ट्रेसन (CR) कार्ड बनाइन्छ। अस्पतालको विशाल संसारमा बिरामीको चिनारी यही नम्बर बन्न पुग्छ। दर्ता गर्दा आफ्नो ह्वाट्सएप नम्बर टिपाएर अस्पतालको आधिकारिक मोबाइल एप डाउनलोड गरेपछि सम्पूर्ण परीक्षणका रिपोर्टहरू सिधै हातको मोबाइलमै आइपुग्छन्। यहाँ कागजातको ठूलो मुठ्ठो बोकेर डाक्टरको कोठा चहारिरहनु पर्दैन, त्यो CR नम्बरको आधारमा फाइल सिधै सम्बन्धित चिकित्सकको स्क्रिन र टेबलमा पुगिसकेको हुन्छ। यहाँको एउटा निकै महत्त्वपूर्ण र नझुक्किनैपर्ने नियम छ—एक पटक तिरेको १,६०० भारूले पाँच दिनसम्म डाक्टरसँगको परामर्श मान्य हुन्छ। तर, यदि डाक्टरले "भोलि बिहान ९ बजे आउनुहोस्" भनेर बोलाउनुभयो भने भोलिपल्ट सिधै ढोका बाहिर कुरेर बस्दैमा पालो आउँदैन। जति घण्टा पर्खिए पनि नाम पुकारिँदैन। त्यसका लागि डाक्टरको कोठा नजिकैको काउन्टरमा CR नम्बर टिपाएर फाइल झिकाउनुपर्छ र नयाँ टोकन हात पारेपछि मात्र डाक्टरको कक्षमा प्रवेश पाइन्छ।

उपचारको प्रारम्भिक चरणमा चिकित्सकहरूले नेपालका रिपोर्टहरूको सूक्ष्म पुनःपरीक्षण गराउँछन्। रगतको प्रकृतिअनुसारको जाँचमा भारू २,५०० देखि १९,००० सम्म, बायोप्सी ब्लकको रिभ्युमा भारू ३,००० देखि १८,००० सम्म र सीटी वा एमआरआईको समीक्षामा भारू ३,००० देखि १२,००० सम्म खर्च हुन सक्छ। सामान्यतया बायोप्सी समीक्षा र पीईटी-सीटी (PET-CT) स्क्यानसहितको प्रारम्भिक पुनःपरीक्षणमा करिब भारू २५,००० देखि ४०,००० सम्मको जोहो गर्नुपर्छ। यी सबै वैज्ञानिक परीक्षणहरूको नतिजा आइसकेपछि मात्र मुख्य विशेषज्ञहरूको टोलीले बिरामीको उमेर, तौल र रोगको चरणअनुसार अन्तर्राष्ट्रिय क्यान्सर उपचार गाइडलाइन (NCCN Guidelines) लाई अक्षरशः पछ्याउँदै उपचारको खाका कोर्छ। यहाँ कुनै अनुमान वा मनलाग्दीमा औषधि चल्दैन।उपचारको आर्थिक पाटोलाई हेर्दा, केमोथेरापीमा सामान्य जेनेरिक औषधि परे प्रति साइकल भारू १५,००० बाट सुरु हुन्छ भने जटिल टार्गेटेड वा इम्युनोथेरापीमा यो खर्च लाखभन्दा माथि पुग्न सक्छ। शल्यक्रियाको मोडेलमा साधारण, ल्याप्रोस्कोपिक वा रोबोटिक प्रविधि तथा वार्डको छनोटअनुसार भारू १,५०,००० देखि ५,००,००० सम्म लाग्न सक्छ। खर्च घटाउन दैनिक करिब भारू ४,५०० पर्ने जनरल वार्ड नै सबभन्दा उत्तम हुन्छ, जहाँ डाइटिसियनको रेखदेखमा बिरामीको खानपिन र स्याहार निकै स्तरीय ढङ्गले हुन्छ। यदि अस्पतालको खाना नरुचे डाक्टरको सल्लाह लिएर आफ्नै कोठाबाट बनाएर खुवाउन पनि सकिन्छ। त्यस्तै रेडिएसन थेरापीमा प्रविधि र सेसन हेरी भारू १,५०,००० देखि ३,५०,००० सम्मको दायरा रहन्छ। बसाइ र खानपिनका लागि सोमबजारको मासिक खर्च भारू ३०,००० देखि ४५,००० को हाराहारीमा व्यवस्थापन गर्न सकिन्छ। चिकित्सकको दक्षतामा अटल विश्वास राख्नुपर्छ, तर कुरुवा सधैँ चनाखो हुनु अपरिहार्य छ। दिनहुँ दर्जनौँ गम्भीर बिरामी हेर्ने चिकित्सकहरूबाट पनि कहिलेकाहीँ मानवीय त्रुटि हुन सक्ने सम्भावनालाई नकार्दै आफ्ना संशय, बिरामीको पछिल्लो अवस्था र औषधिका असरबारे प्रतिप्रश्न गर्न कहिल्यै धक मान्नुहुँदैन।

क्यान्सर जतिसुकै भयानक रोग भए पनि बलियो आत्मविश्वास, सकारात्मक सोच र सही व्यवस्थापकीय सुझबुझका अगाडि यो परास्त हुन्छ। आज मेरी श्रीमती रोगमुक्त भएर हामी सामान्य फलो-अपको सहज दिनहरूमा फर्किसकेका छौँ। यो लडाइँ लड्दै गर्दा परदेशको भूमिमा कसैले बाटो नबिराओस्, भ्रम र ठगीको सिकार बन्नु नपरोस् भन्ने नै मेरो सदिच्छा हो। यो यात्रामा कसैलाई कुनै व्यावहारिक अन्योल वा सल्लाह चाहिएमा म सधैँ खुला हृदयले साथ दिन तयार छु; रोगसँग जुधिरहेका सम्पूर्ण आदरणीय मनहरूको शीघ्र स्वास्थ्य लाभको गहिरो कामना गर्दछु।