क्यान्सर: भ्रम, यथार्थ र जीवनरेखा — सामाजिक गल्ती, औषधिको अनुशासन र बाँच्ने जिजीविषा
2026-10-08
क्यान्सर- कण्ठस्थानको ‘क’ बाट सुरु भएर तालव्यमा विलीन हुने ६ वटा अक्षरको एउटा सानो शब्द। तर यसको फैलावट भने सिङ्गो मानव देहको अङ्ग-प्रत्यङ्गमा जकडिएको छ। इतिहास र साहित्यको विद्यार्थी भएका नाताले मैले यसका जराहरू खोजेँ। यो कुनै आधुनिक प्रयोगशालाले उपहार दिएको विकृति मात्र होइन रहेछ; इजिप्टको प्राचीन सभ्यताका ममीहरूदेखि हाम्रा वैदिक ग्रन्थहरूका पानासम्म यसका पदचापहरू भेटिन्छन्। यो त मानव विकासक्रमसँगै हिँडेको एउटा अनपेक्षित आनुवंशिक उत्परिवर्तन हो।म फोटोग्राफीको एउटा साधक, प्रकाश र छायाको खेलमा जीवन खोज्ने यात्री। तर आज म चिकित्सा विज्ञानको यो भयावह महासागरमा शब्दका ससाना डुङ्गाहरू खियाउँदै छु। यो कुनै कोरा कल्पना होइन, आफ्नै छातीमा भोगेको यथार्थको तरङ्ग हो। क्यान्सर आफैँमा जति जटिल छ, त्योभन्दा बढी जटिल यसलाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण र उपचारका क्रममा बिरामी तथा परिवारले गर्ने अन्जान गल्तीहरू छन्।
क्यान्सर कुनै छुतको रोग होइन, यो हावाबाट सर्दैन। तर विडम्बना कस्तो भने, क्यान्सर लागेको कमजोर शरीरलाई बाहिरको सामान्य हावाले पनि मृत्युको मुखमा धकेल्न सक्छ। जब बिरामीको नसाबाट रातो-पहेंलो किमो चढाइन्छ वा घरमै चौध दिनसम्म ‘ओरल किमो’ को कडा औषधि चल्छ, तब उसको शरीरभित्र एउटा मौन महाभारत चलिरहेको हुन्छ। रोगसँग लड्ने सेता रक्तकोषहरू ढल्छन्, राता कोषहरू सुक्छन् र रगत जमाउने प्लेटलेट्सको साम्राज्य भत्किन्छ।
यस्तो संवेदनशील घडीमा हाम्रा शुभचिन्तकहरू हातमा फलफूल र हर्लिक्सको झोला बोकेर, मायाको परिचयपत्र भिर्दै बिरामी भेट्न ओइरिन्छन्। बाहिरबाट आएको स्वस्थ मानिसको शरीरमा सामान्य रुघाखोकीको भाइरस निष्कृय भएर बसेको हुन सक्छ, तर जब ऊ बिरामीको श्वासप्रश्वासको घेराभित्र पुग्छ, त्यो अदृश्य भाइरस बिरामीका लागि काल बनेर झम्टिन्छ।
परिणाम? अर्को चक्रको किमोका लागि अस्पताल पुग्दा रगतको परीक्षण (CBC, LFT, KFT) ले खतराको घण्टी बजाउँछ। किमो रोकिन्छ, औषधिको मात्रा खलबलिन्छ र बिरामीले पुनः बुस्टर डोजको सुईहरू झेल्नुपर्छ उपचार प्रकृया केहि दिन पर धकेल्नुपर्दछ। हाम्रो तथाकथित ‘भेटघाटको औपचारिकता’ ले बिरामीको जीवनरेखा छोट्याइरहेको हुन्छ। क्यान्सरको शय्यामा सयाै मानिसको भीड होइन, बिरामीको औषधिको तालमेल बुझ्ने, पोषणको ख्याल गर्ने र मानसिक संवेगलाई सम्हाल्न सक्ने एक/दुइ जना सचेत र सबल ‘केयरटेकर’ मात्र पर्याप्त हुन्छ।
हाम्रो समाजमा सहानुभूति बाँड्न आउनेहरू प्रायः अनपेक्षित मनोवैज्ञानिक विष घोलेर जान्छन्। बिरामीको ओछ्यान छेउ बसेर— "फलानाकी सासूलाई पनि यस्तै भएको थियो, तीन महिना पनि टिकिनन्" भन्दै विगतका शोकगीत सुनाउने ज्ञानीहरूको यहाँ कुनै कमी छैन।
क्यान्सरसँगको लडाइँ आधा औषधिको हुन्छ भने आधा बिरामीको आत्मबलको। जब आफन्त भनाउँदाहरूले नै निराशाका मन्दिरहरू बिरामीको मनमा ठड्याइदिन्छन्, तब बिरामीको बाँच्ने तृष्णा भित्रभित्रै निभ्न थाल्छ। बिरामीलाई सान्त्वनाको नाममा शोककथा होइन, जिन्दगीको उज्यालो प्रकाश चाहिएको हुन्छ।
क्यान्सर एउटा नाम भए पनि यसका हजारौँ रूप र रङहरू छन्। एउटै अङ्गको क्यान्सर पनि दुई व्यक्तिमा भिन्न प्रकृतिको हुन्छ। बिरामीको उमेर, तौल, रोगको चरण (Stage) र कोषको आनुवंशिक संरचनाका आधारमा डाक्टरले उपचारको नक्सा कोरेका हुन्छन्। कसैलाई पहिला शल्यक्रिया गरेर मात्र किमो दिइन्छ, कसैलाई किमो र रेडियोथेरापीले ट्युमर सुकाएर मात्र अपरेसन थिएटर लगिन्छ, त कसैलाई इम्युनोथेरापीको सहारा दिइन्छ।
तर, हाम्रा ‘स्वघोषित चिकित्सकहरू’ तुरुन्तै फैसला सुनाउँछन्— "फलानोलाई त यस्तो औषधि चलाएको थियो, तिमीलाई किन अर्कै गर्यो? डाक्टरले बिगारेछ क्यारे!" यस्ता अनुसन्धानविहीन र सतही टिप्पणीले परिवारमा द्विविधा, अविश्वास र दिशाहीनता जन्माउँछ। फलस्वरुप, कतिपय परिवारहरू आधुनिक विज्ञानको मार्ग छोडेर अन्धविश्वास, झारफुक वा जडीबुटीको भूलभुलैयामा फस्छन्, जहाँबाट फर्कँदा रोग चौथो चरणको अन्तिम ढोकामा पुगिसकेको हुन्छ।क्यान्सरको उपचार अत्यन्त महँगो र थकाउने यात्रा हो, यसमा दुईमत छैन। तर यही आर्थिक दबाबका बीच कतिपय परिवारले जानेर वा नजानेर एउटा ठूलो आत्मघाती गल्ती गर्छन्— गुणस्तरहीन औषधिको छनोट।
अन्तर्राष्ट्रिय मापदण्ड, क्लिनिकल रिसर्च र कडा गुणस्तर परीक्षणबाट प्रमाणित बहुराष्ट्रिय कम्पनीका औषधिहरू एकातिर हुन्छन् भने अर्कातिर कुनै प्रभावकारी अनुगमन र परीक्षण नगरिएका स्थानीय वा गैर-मान्यताप्राप्त सप्लायर्सका सस्तो मूल्यका औषधिहरू। जब नियमनकारी निकायको आँखा छलेर बजारमा छिरेका त्यस्ता कमसल मोलिक्युलहरू बिरामीको रक्तसञ्चारमा पसाइन्छ, त्यो शरीरका लागि ढाल होइन, उल्टै विषालु भाला बनिदिन्छ। क्यान्सरसँग लड्ने असली सैनिकहरू जाग्नुको सट्टा त्यस्ता कमसल औषधिका कारण क्यान्सरका कोषहरू नै झन् तीव्र गतिमा सल्बलाउन थाल्छन्। औषधिको नाम एउटै देखिँदैमा त्यसको प्रभावकारिता एउटै हुँदैन; औषधिको गुणस्तरमा सम्झौता गर्नु भनेको बिरामीको जीवनलाई अन्धकारको मुखमा धकेल्नु हो।
हाम्रो नेपाली समाजमा औषधिलाई ‘घडीको सुई’ सँग होइन, ‘भातको थाल’ सँग जोडेर हेर्ने एउटा घातक बानी छ। चाहे सामान्य रुघाखोकी होस् या क्यान्सर जस्तो प्राणघातक रोग— डाक्टरले "१२/१२ घण्टामा खानु" भन्नुको वैज्ञानिक मर्मलाई हामी ‘बिहान-बेलुका खाना खाएपछि’ भन्ने सतही बुझाइमा सीमित गरिदिन्छौँ।
सोच्नुहोस् त, बिरामीले बिहान १० बजे भात खाएर १०:३० मा औषधि खान्छ, तर बेलुकीको खाना भने परिवारको अनुकूलता अनुसार ८ बजे नै खाएर ८:३० मा अर्को डोज निलिदिन्छ। बिहानको डोजबाट बेलुकीको डोजबीचको अन्तर जम्मा १० घण्टा भयो, तर बेलुकी ८:३० देखि भोलिपल्ट बिहान १०:३० सम्मको अन्तर भने पूरै १४ घण्टा पुग्यो!
विज्ञान भन्छ— १२ घण्टे औषधिको आयु शरीरभित्र ठ्याक्कै त्यति नै समय हुन्छ। पहिलो डोजको प्रभाव सकिनै लाग्दा दोस्रो डोजले युद्धको मोर्चा सम्हाल्नुपर्छ। जब त्यो समयको चक्र खलबलिन्छ, शरीरभित्र औषधिको मात्रा घट्छ र निदाएका क्यान्सरका कोषहरूले टाउको उठाउने सुनौलो मौका पाउँछन्। अस्पतालमा नर्सहरूले ठ्याक्कै घडी हेरेर औषधि खुवाउनुको पछाडि यही जीवन-मरणको विज्ञान जोडिएको हुन्छ। खाना सामान्य अघि-पछि भए पनि केही फरक पर्दैन, तर क्यान्सरको औषधिको समय भने घडीको सेकेन्ड जस्तै अनुशासित हुनैपर्छ।
क्यान्सर जीवनको पूर्णविराम होइन, यो त केवल एउटा कठिन अल्पविराम हो। भावुकतामा बगेर भीडभाड गर्नुभन्दा बिरामीलाई सङ्क्रमणमुक्त मनमिल्ने उपचार दिने विचमानै राख्नु वास्तविक प्रेम हो। सस्तोको भ्रम त्यागेर गुणस्तरीय विज्ञानको हात समात्नु बुद्धिमत्ता हो। जबसम्म हामी यी सूक्ष्म तर जीवन जोगाउने संवेदनशील नियमहरू पालना गर्दैनौँ, तबसम्म क्यान्सरको यो महासागर पार गर्न सहज हुने छैन। चेतनाको ज्योति निरन्तर जलिरहोस्, सचेत बनौँ र जीवनको क्यानभासमा नयाँ बिहानी फुलाऔँ फेरि पछि अर्काे बिषयमा अनुभव ,खाेज,अनुसन्धान बाेकेर यहाहरू माझ अाउनेनै छु मेराे एउटै उदेश्य छ क्यान्सर सम्वन्धी जनचेतना एवं यसमा व्याप्त ठगी धन्दाकाे पर्दाफास -बिक्रम न्याैपाने