जब कुरुवा आफैँ 'आधा डाक्टर' बन्छ: क्यान्सर यात्राको एउटा जीवन्त भोगाइ
कुरुवाको डायरी
– बिक्रम न्यौपाने
मेरो जीवन पनि आफ्नै गतिमा बगिरहेको थियो— कुनै ठूलो महत्त्वाकाङ्क्षा बिना, तर आफ्नै सानो परिधिभित्र सन्तुष्ट। पेसाले म व्यवसायी, बिहान ७ बजे पसलको सटर खोलेपछि राति ९ बजे भुइँमा पानी छर्केर ताला लगाउँदासम्म कुन बेला दिन ढल्कियो, पत्तै हुँदैनथ्यो। त्यही पसलको काउन्टर, ग्राहकको कचाकच, बिल र पैसाको हिसाबकिताबमै मेरो दैनिकी बाँधिएको थियो। सानो सुख, सानो आम्दानी र दुई छाक हाँसोखुसीले टर्ने हाम्रो निम्न-मध्यम वर्गीय परिवारको गुड बडो गज्जबले चलिरहेको थियो।तर, हाम्रो नेपाली समाज र परिवारको एउटा निकै घातक बानी छ— जबसम्म समस्याले घरको ढोका नै फोरेर भित्र पस्दैन, तबसम्म हामी त्यसलाई 'केही हैन ' भनेर टारिदिन्छौँ। शरीरले स-साना चेतावनीका सङ्केतहरू दिइरहँदा पनि हामी 'भोलि जाउँला, पर्सि जँचाउँला' भन्दै काम र व्यस्तताको बहाना बनाइरहन्छौँ। हामीकहाँ स्वास्थ्य सतर्कता भनेको रोगले ओछ्यान पारेपछि मात्र सुरु हुन्छ। हाम्रो यही लापरबाही र 'टार्ने' बानीको सानो छिद्रबाट अचानक एउटा यस्तो आँधी आयो, जसले हाम्रो जीवनको जग मात्र हल्लाएन, हाम्रा सारा योजना र भरोसाहरूलाई एकै झट्कामा भत्काइदिन खोज्यो।
'ग्यास्ट्रिक' को भ्रम र मेडिकलको औषधी
विगत केही महिनादेखि मेरी श्रीमतीको शरीरको तौल लगातार घटिरहेको मैले अनुभव गरिरहेको थिएँ। गत हप्ता खाना खाएर गफ गर्दै गर्दा मैले सोधेँ, "तिमी अलि दुब्लाए जस्तो छौ, केही बिरामी वा समस्या छ कि?" उनले सहजै टारिन्, "छैन, केही भएको छैन। मेडिकलबाट औषधी ल्याएर खाइरहेकी छु।" मेरो मनमा चिसो पस्यो, "के को औषधी?" उनले भनिन्, "हल्का दिसा पातलो भइरहेको थियो, त्यही स्टुलको औषधी त हो नि।" मैले 'त्यसो भए स्टुल (दिसा) जँचाउनुपर्छ' भन्दा उनले भोलि जाउँला भनिन्। "भोलि जाउँला" भन्दाभन्दै फेरि अर्को दिन आयो। "आज अफिसमा काम छ, भोलि शनिबार चेकअप गर्न जाउँला नि" भन्ने श्रीमतीको कुरालाई मैले पनि सामान्य मानेँ। कामको व्यस्तता र समयलाई टार्ने हाम्रो बानी उपचारको बाटोमा पहिलो अवरोध बन्यो।शनिबार हामी नजिकैको मेडिकल पुग्यौँ र स्टुल परीक्षणका लागि दियौँ। दुई दिनपछि रिपोर्ट आयो। रिपोर्टमा अरू सबै ठिक थियो, तर रगतको हेमोग्लोबिनको मात्रा घटेर 7.9 g/dL मा झरेको देखियो। मेडिकल व्यवसायीले रगत बढाउने र केही अन्य औषधी दिए। हामी पनि 'लौ, अब ठिक हुने भयो' भन्दै ढुक्क भएर फेरि आफ्नो दैनिक जीवनको धपेडीमा फर्कियौँ।समय बित्दै गयो, तर औषधीले काम गरेन। उनको शरीर दिनदिनै झन् कमजोर र गल्दै गएको आभास हुन थाल्यो। हामी फेरि त्यही मेडिकल धायौँ। धेरै पल्ट आउने-जाने गरेपछि मेडिकलका सञ्चालकले हामीलाई चिनिसकेका थिए। तर, त्यो दिन हामी भित्र पस्नुअघि नै उहाँले गम्भीर हुँदै भन्नुभयो, "बिक्रम जी, अब तपाईंहरू हस्पिटल जानुपर्छ। औषधी मात्र खाएर हुन्न, एकपल्ट डाक्टरलाई देखाएर वृहत् अध्ययन गराउनुस्।"त्यो वाक्यले मेरो आँखा जुरुक्क खुल्यो। मलाई आफ्नै अज्ञानतामाथि भित्रभित्रै रिस उठ्यो— हो त नि, सल्लाह त डाक्टरको पो लिने हो! सबै मेडिकल व्यवसायी डाक्टर त होइनन्। यो कुरा थाहा हुँदाहुँदै पनि म किन यति गहिरिन नसकेको? म आफैँलाई गाली गर्दै मेडिकल सञ्चालकलाई धन्यवाद दिएँ र 'हस् सर, हामी भोलि नै जान्छौँ' भनेर फर्किएँ।तर, नियतिले फेरि हाम्रो बाटो छेक्यो। श्रीमती शिक्षिका भएकीले भोलिपल्ट विद्यालयमा विद्यार्थीहरूको परीक्षा चलिरहेको थियो, त्यसैले जान सकिएन। 'पर्सि जाउँला' भन्दा मेरो कामको व्यस्तता आइलाग्यो। मैले 'तिमी र छोरी जाऊ न त' भन्दा उनले 'तपाईं र म नै जाउँला बरु दुई दिन ढिला भएर केही हुन्न' भनिन्। यसरी फेरि रोकियो उपचारको यात्रा। रोग भित्रभित्रै सल्किँदै थियो, हामी बाहिर काम र व्यावहारिक जिम्मेवारीको बहानामा अलमलिइरहेका थियौँ।
आकस्मिक प्रहार र रोगको अस्पष्ट खोजी
भोलिपल्ट बिहान म पसलमै व्यस्त थिएँ। हाम्रो पसल र बस्ने कोठा एक घर मात्र फरक भएकाले म बेलाबेलामा घर पस्ने गर्थेँ। आमालाई 'चिया पकाउनुस्' भन्न कोठामा जाँदा श्रीमतीलाई खाटमा छटपटिएको देखेँ। "लौ, आज स्कुल नगएको?" भनी सोध्दा उनले अत्तालिँदै भनिन्, "निकै गाह्रो भयो, वाकवाकी आउला जस्तो भयो, पेट पनि असाध्यै दुख्यो।"उनको त्यो अवस्था देख्नासाथ मेरो सातो गयो। "मलाई अघि नै भन्नु पर्दैन?" भन्दै म कराएर लुगा लगाउन भनेँ। पसलमा कुदेर गएँ, काउन्टरमा भएको पैसा झिकेँ, पसलको सटर हतार-हतार बन्द गरेर श्रीमतीलाई सिधै हस्पिटल पुर्याएँ।हस्पिटल त भर्ना भयो, तर रोग पत्ता लाग्न झन्डै तीन महिना लाग्यो। त्यो तीन महिना हाम्रो लागि एउटा ठूलो मानसिक सास्ती थियो। यस क्रममा शरीर निकै कमजोर भएकाले ४ प्याकेट रगत चढाइयो। दुई पल्ट भिडियो एक्सरे (USG), इन्डोस्कोपी, रगत, पिसाब र दिसाको अनगिन्ती परीक्षणहरू गरिए।दोस्रो महिनामा जब सिटी स्क्यान (CT Scan) गरियो, तब आन्द्राको एउटा साइडमा २०५ एमएल पिप जमेको रिपोर्ट आयो। डाक्टरले "लौ, अब रोग पत्ता लाग्यो" भन्दा हामीलाई पनि ठूलो राहत मिल्यो। तर, रेडियोलोजी गरेर पिप निकाल्दा २०५ एमएल भनिएको ठाउँमा जम्मा ४० एमएल मात्र पानी जस्तो तरल पदार्थ निकालियो। यति गर्दा पनि उनको शरीर स्वस्थ र व्यवस्थित हुन सकेन। हस्पिटलबाट डिस्चार्ज भएर घर आएपछि पनि समस्या जस्ताको तस्तै रहेपछि मैले एउटा दृढ निर्णय गरेँ— "अब हस्पिटल होइन, डाक्टर नै परिवर्तन गर्नुपर्छ।"
दोस्रो मत (Second Opinion) र क्यान्सरको गम्भीर मोड
हामीले नयाँ डाक्टर फेर्यौँ र पुराना सबै रिपोर्टहरू उहाँलाई देखायौँ। डाक्टरले बिरामीको गम्भीर अवस्था हेरेर त्यही दिन रगत चढाउने व्यवस्था गर्नुभयो र भोलिपल्टै कोलोनोस्कोपी (Colonoscopy) गर्ने निर्णय भयो।भोलिपल्ट जब कोलोनोस्कोपी गरियो, तब भित्रको दृश्य डरलाग्दो देखियो। आन्द्राभित्र लिम्फ नोडहरू (मासुका गिर्खाहरू) पलाएर आन्द्राको बाटो पूरै छेकिएको रहेछ, जसका कारण क्यामरा समेत भित्र छिर्न सकेन। आन्द्रा झन्डै टालिने (Intestinal Obstruction) अवस्थामा पुगिसकेको थियो।परीक्षणपछि डाक्टरले मलाई छुट्टै कोठामा बोलाउनुभयो र गम्भीर हुँदै भन्नुभयो, "बिक्रम जी, श्रीमतीको लगातार तौल घट्नु, खाना खान मन नलाग्नु, दिसा पातलो र कालो आउनु, र प्रत्येक महिना रगत कम हुनु— यी सबै कोलन क्यान्सर (ठुलो आन्द्राको क्यान्सर) का पूर्व सूचना हुन्। त्यसमाथि कोलोनोस्कोपीमा देखिएको ट्युमरले यसलाई झनै प्रष्ट पारेको छ। यद्यपि, बायोप्सी (Biopsy) परीक्षण गरेर मात्र यसलाई प्रमाणित गर्नुपर्छ, तर मानसिक रूपमा तपाईं क्यान्सरको उपचारका लागि तयार रहनुस्। 'क्यान्सर'—यो एउटा यस्तो शब्द रहेछ, जसले सुन्नेबित्तिकै मानिसको सातो लिने र जीवनमा एउटा छुट्टै किसिमको अन्धकार सिर्जना गर्ने रहेछ। डाक्टरको मुखबाट त्यो शब्द निस्किनासाथ क्षणभरका लागि मेरो वरिपरिको संसार ठप्प भयो। केही सोच्नै नसक्ने गरी आँखाअगाडि अन्धकार छायो। जम्मा ३७ वर्षकी मेरी जीवनसङ्गिनी, जसको काँधमा दुई साना छोरीहरूको भविष्य र मेरो पूरा संसार अडिएको थियो, उनी क्यान्सरको ओछ्यानमा पुगिसकेकी थिइन्।तर, डाक्टरले मलाई विचलित हुन दिनुभएन। उहाँले एउटा नयाँ आशाको दियो बाल्दै भन्नुभयो, "अहिले डराएर बस्ने समय छैन। यो सुरुआती चरणको क्यान्सर जस्तो देखिन्छ। हामीले तत्काल उपचार सुरु गर्नुपर्छ, किनकि समय गुमाउनु भनेको जीवनलाई नै जोखिममा पार्नु हो। नअत्तालिनुस्, पहिला उपचार कहाँ गराउने सोच्नुस् र खर्चको व्यवस्थापनमा लाग्नुस्। हाम्रो हस्पिटलमा यसको पूर्ण उपचार छैन, यहाँ अब भर्ना भएर खर्च मात्र बढाउनुको अर्थ छैन। म केही औषधीहरू लेखिदिन्छु, त्यो सेवन गर्दै गर्नुस् तर बायोप्सीको फाइनल रिपोर्ट आउनुपूर्व नै अगाडिको तयारीमा जुट्नुस्।
मेरा दुई ठूला गल्ती र चेतनाको उदय
डाक्टरको त्यो स्पष्ट र इमानदार कुरा सुनेपछि बल्ल मेरो चेतना खुल्यो। मैले जीवनका दुईवटा ठूला गल्तीहरू महसुस गरेँ, जुन गल्ती आज धेरै नेपाली परिवारले गरिरहेका छन्:
१. मेडिकललाई नै हस्पिटल ठान्नु: सामान्य बिरामी भइयो भनेर नजिकैको मेडिकलमा देखाउँदै औषधी खानु भनेको शरीरमा रोगलाई झन् बलियो बनाउने बाटो दिनु रहेछ। मेडिकल गम्भीर रोगको उपचार खोज्ने ठाउँ होइन, त्यो त डाक्टरले लेखिदिएको औषधी लिने, वा सामान्य रुघाखोकी, ज्वरो आउँदा र हस्पिटल टाढा हुँदा गरिने 'प्राथमिक उपचार' को केन्द्र मात्र हो। केही घण्टा वा केही दिनका लागि मेडिकल ठिक होला, तर मैले त यसलाई नियम जस्तै बनाएर रोग खोज्नुपर्ने बेलामा उल्टै रोगलाई शरीरभित्र लुकेर बस्न सहयोग गरिरहेको रहेछु। अर्काे अझै महत्वपुर्ण मेडिकलमा स्टुल,रगत जस्ताे परिक्षण गर्ने सर्टिफाइड ल्याब हुदैन वा त्याे परिक्षण गर्नकाे लागी पनि अन्त नै जहा धेरै नाफा अाउछ त्यहि पठाइन्छ फलस्वरूप हामिले गरेकाे रगत र स्टुलकाे परिक्षण वृहत भएकाे थिएन पनि , यसमा गल्ति हाम्राे पनि छ किनकि हामि निम्न मध्यय बर्गिय परिवारले रगतकाे मात्र परिक्षण यदि ५०० भन्याे भने सस्ताे मा गर्याे तर १० हजार भन्याे भने लुटे हामिलाइ भन्छाै जबकि त्याे ५०० काे परिक्षण गर्न र १० हजारकाे परिक्षण नै निक्कै फरक र गहिराे हुन्छ त्यसमाथि पनि स्थानिय मेडिकलले याे सबै वृहत जानकारि दिन पनि सक्दैनन र लिनेमा ज्ञान पनि धेरै नहुने रहेछ ।
२. 'दोस्रो मत' (Second Opinion) नलिनु: मैले अर्को गल्ती के गरेँ भने, सुरुमा एउटै डाक्टर र एउटै हस्पिटलको मात्र भर परेर बसेँ। यदि मैले सुरुमै अन्य केही डाक्टरहरूलाई रिपोर्ट देखाएर सत्यतथ्य जानकारी गराएको भए, ती लक्षणहरूका आधारमा क्यान्सर पहिले नै पत्ता लागिसक्थ्यो कि! त्यसैले चिकित्सा विज्ञानमा 'दोस्रो मत' को असाध्यै ठूलो आवश्यकता र महत्त्व हुन्छ।यो ४ महिनाको पीडादायी यात्रामा मलाई अर्को एउटा कुराको पनि गहिरो बोध भयो— हामीले समय-समयमा स्वास्थ्य परीक्षण (Holistic Health Check-up) गर्नै पर्छ, विशेष गरी महिलाहरूको। एउटा महिलाको शरीर पुरुषको जस्तो हुँदैन; उनीहरू गर्भवती हुन्छन्, अपरेसन हुन्छ, महिनावारीको उतारचढाव हुन्छ र जीवनका विभिन्न चरणमा उनीहरूको शरीर धेरै औषधी र हर्मोनको फेरबदलबाट गुज्रिएको हुन्छ। त्यसैले उनीहरूको स्वास्थ्यमा अझ बढी संवेदनशील हुन जरुरी छ। धन्न, मेरो परिवार अलि शिक्षित थियो। नत्र क्यान्सर भन्नेबित्तिकै "मृत्यु" सम्झने आम मानसिकता बोकेको हाम्रो समाजले उनको आत्मबल मारिदिन कति पनि समय लगाउने थिएन।
"सम्पत्ति भनेको घर-जग्गा होइन, स्वास्थ्य हो"
जब क्यान्सरको शङ्का बलियो भयो, मैले श्रीमतीको अगाडि गएर उनको हात समातेँ। उनलाई निराशाको खाडलमा पस्न नदिन मैले पहिले केही भूमिका बाँध्दै दृढ आवाजमा भनेँ— "सजना, यो संसारमा कुनै पनि कुरा असम्भव छैन। यदि कसैलाई केही कुरा असम्भव लाग्छ भने, त्यो उसको कमजोर आत्मबलको कारण मात्र हो। आत्मबल कमजोर भयो भने सम्भव भएका कुरा पनि असम्भवको टोकरीमा पुग्छन्। हुन त आधिकारिक रिपोर्ट आउन बाँकी छ, तर अनुमान अनुसार यो कोलन क्यान्सर हो, जसमा डराउनुपर्ने केही छैन। सामान्य अपरेसनबाटै यो ठिक हुन्छ।" मैले उनलाई अझ सम्झाउँदै भनेँ, "धेरै मानिसहरू क्यान्सर शब्दको डर र सामाजिक त्रासका कारण रोग लुकाउँछन्। उपचार गरेर २० वर्ष राम्रोसँग बाँचेर बुढेशकालमा मर्दा पनि समाजले 'उनलाई त क्यान्सर थियो नि' भनेर भनिदिन्छ। सुन्ने मानिसलाई लाग्छ— अस्ति क्यान्सर भएको थियो, आज मरिहाले। मानिसहरूले यसलाई लुकाउने हुनाले नै यो रोग रहस्यमयी र डरलाग्दो बनेको हो। आजको समयमा हरेक ८ जनामध्ये १ जनालाई क्यान्सरको जोखिम छ। हाम्रो खानपान प्लास्टिकको प्याकेटमा आउँछ, तरकारीमा विषादी हालिएको हुन्छ, सहरमा प्रदूषण छ— यी सबै क्यान्सरका बीउ हुन्। त्यसैले अब डराउने होइन, लड्ने हो।"मैले त्यही रात निर्णय गरेँ— अब म सबैभन्दा पहिले क्यान्सरको उत्कृष्ट उपचार र सबै सेवा एकै ठाउँमा पाइने हस्पिटलको अनुसन्धान गर्नेछु। पसल चलाउनका लागि स्टाफ र व्यवस्थापन मिलाउनेछु र हाम्रो पूरा ध्यान केवल उपचारमा मात्र केन्द्रित गर्नेछु।मैले श्रीमतीको आँखामा हेरेर भनेँ— "तिमी कत्ति पनि नआत्तिनु, एउटा स्पष्ट र खुला दिमागले निर्णय लिऔँ। यदि नेपालमा उपचार सम्भव भएन भने पनि म तिमीलाई विदेश लैजानेछु। किनकि यो जीवनमा हाम्रो वास्तविक सम्पत्ति भनेको घर, जग्गा, गाडी वा सुनचाँदी होइन; हाम्रो वास्तविक सम्पत्ति त यो शरीर र स्वास्थ्य हो। हामीले जुनसुकै मूल्यमा पनि हाम्रो यो सम्पत्ति जोगाउनु छ।"श्रीमतीको ओठमा एउटा मधुर भरोसाको मुस्कान फर्कियो। म मनमा कालिका माताको स्मरण गर्दै, आँखामा साहस र खल्तीमा भएको ऊर्जा बटुलेर उत्कृष्ट हस्पिटल र खर्चको व्यवस्थापनको अनुसन्धानमा जुटेँ। मुख्य युद्ध त अझै बाँकी नै थियो...।
प्रश्नहरूको भुमरी र भारत यात्राको निर्णय
– बिक्रम न्यौपाने
डाक्टरको मुखबाट श्रीमतीलाई 'कोलन क्यान्सर' भएको पूर्व-अनुमान सुनेपछि मेरो मानसपटलमा प्रश्नहरूको एउटा महासागर अशान्त बन्यो। अब उपचार कहाँ गर्ने? कुन अस्पतालमा लैजाने? खर्च अनुमानित कति लाग्छ? हामी काठमाडौँमा बस्ने मानिस, तर यो रोगको भूगोल र गहिराइ हाम्रा लागि बिल्कुलै नौलो थियो।मैले आफ्नो चिनजानमा रहेका र क्यान्सर भोगिसकेका केही बिरामीका परिवारहरूसँग सूचना लिन प्रयास गरेँ। तर अफसोस, धेरैजसोले मेरा प्रश्नहरूको स्पष्ट जवाफ नै दिन सक्नुभएन। उल्टै, उहाँहरूले भोगेका घटनाले मलाई दुविधाको झन् ठूलो पोखरीमा डुबाइदियो। एकजनाले भन्नुभयो— "हाम्रो दिदीको एउटा नाम चलेको 'ए' (A) अस्पतालमा उपचार त राम्रै भएको थियो। किमो गरियो, अपरेसन पनि सफल भयो। तर, एक वर्षपछि फलोअप (नियमित जाँच) गर्दा त क्यान्सर शरीरका धेरै ठाउँमा फैलिइसकेछ! भिनाजुले डाक्टरलाई 'किन यस्तो भयो?' भनी सोध्दा डाक्टरले केही जवाफै दिन सकेनन्। पछि अर्को 'बी' (B) अस्पताल पुर्यायौँ, तर केही महिनामै दिदीले संसार छोड्नुभयो।"यो सुनेर म निक्कै सशङ्कित भएँ। मेरो दिमागमा डरलाग्दा प्रश्नहरू उब्जिन थाले। तर, कतिपय प्रश्नहरू त मैले सोध्ने हिम्मत नै गरिनँ; किनकि उहाँहरूले आफ्नो मान्छे गुमाइसक्नुभएको थियो, मेरा प्रश्नहरूले उहाँहरूको ओभाएको आँसु फेरि खसाल्न सक्थ्यो। अर्का एकजना दाजुसँग सल्लाह माग्दा उहाँले बडो नम्र हुँदै भन्नुभयो— "क्यान्सरको उपचार गर्दागर्दै धेरैतिर भौँतारिनुपर्यो भाइ। नेपालमा समयमा औषधी नै पाइँदैनथ्यो। औषधी खोज्दाखोज्दै हप्तौँसम्म किमो रोकियो। बल्ल-बल्ल कताबाट कसले पत्ता लगाएर ल्याइदिएपछि मात्र किमो चढाउन पाइयो।"यो कुराले मेरो मनमा पीडाको पहाड झन् थपिदियो। क्यान्सर आफैँमा बाघ जस्तो रोग, त्यसमाथि औषधीकै लागि भौँतारिनुपर्ने कस्तो विवशता!
हस्पिटलको कोठा र सामाजिक सञ्जालको 'भ्रम'
त्यही बीचमा, मेरा फुपूका छोरा (दाजु) जनार्दन थापालाई पनि क्यान्सर भएर ललितपुरको एउटा क्यान्सर अस्पतालमा भर्ना गरिएको खबर पाएँ। दाजुलाई भेट्ने बहानामा म हस्पिटल छिरेँ। त्यहाँ डाक्टर र नर्सको सेवा त निकै राम्रो थियो। दाजुको नसाबाट एउटा सेतो झोल र स्लाइन पानी जस्तो केही औषधी चढाइँदै थियो। छेउमै दिदी हुनुहुन्थ्यो। दाजुले खुट्टामा केही चिजले निरन्तर सेकाइरहेको देखेर मैले सोधेँ, "यो के गर्नुभएको दाजु?" दाजुले भन्नुभयो, "किमो चढाएपछि शरीर अलि पोल्छ भाइ, त्यही भएर सेकाएको।"यो देखेपछि म भित्रभित्रै झन् आत्तिएँ। हस्पिटलको त्यो वातावरण र यी घटनाहरूले मलाई झन्-झन् जकड्दै लगिरहेका थिए। म गाडीमा हिँड्ने समयमा पनि मोबाइलमा एआई (AI) को सहायताले क्यान्सर र यसको उपचार विधिको निरन्तर अध्ययन गरिरहन्थेँ। अन्तरमनमा अनेकौँ प्रश्नका धमिलो बहाव चलिरहेको थियो। बिदा हुने बेला दाजु-दिदीले "नानी (श्रीमती) लाई पनि यतै ल्याउने कि के हो?" भनी सोध्नुभयो। मैले प्रतिउत्तरमा भनेँ, "मेरो निर्णयको बाटो अझै स्पष्ट भइसकेको छैन दिदी।"त्यो रात म झन्डै बिहानको ३ बजेसम्म सुत्नै सकिनँ। अनलाइनमा क्यान्सर सम्बन्धी अनगिन्ती लेखहरू पढेँ, तर जति पढे पनि ती सबै अपुरा लाग्थे। एउटा सामान्य मानिसले सहजै बुझ्ने भाषा कतै पाइनँ। सायद मैले अनलाइनमा 'क्यान्सर' भनेर धेरै खोजेकाले होला, भोलिपल्टदेखि मेरो फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा क्यान्सर निको पार्ने विज्ञापनहरूको बाढी नै आउन थाल्यो! अधिकांश विज्ञापन आयुर्वेदका थिए। कसैले '१ महिनामा १०० प्रतिशत क्यान्सर निको पार्ने' दाबीसहित वाचा गर्थे, त कसैले 'यो खाने, त्यो नखाने' भन्दै आफ्ना जडीबुटीको प्रचार गर्थे। यी विज्ञापनले मलाई सहयोग गर्नुको साटो झन् अन्योलमा पार्न खोज्दै थिए। यहाँसम्म कि, मैले झुक्किएर एउटा विज्ञापनमा क्लिक गरेकै भरमा मलाई फोन समेत आयो! फोनमा निकै मिठो, मधुर र सहानुभूतिले भरिएको स्वरमा धार्मिक ज्ञान र आस्था मिसाएर मलाई सल्लाह दिइँदै थियो। तर, म यतिखेर सम्म निकै सचेत भइसकेको थिएँ। म कसैको लहलहैमा लाग्ने वा भ्रममा फस्ने मानसिकतामा थिइनँ; किनकि मेरो सोचको सहारामा मेरा डाक्टर साथीहरूको सल्लाह र एआई (AI) प्रविधिको गहिरो ज्ञान पहरेदार बनेर बसेको थियो।
नेपालमा उपचार नगर्ने त्यो कठोर निर्णय
रोगको अनुसन्धानसँगै म नेपालका अस्पतालहरूको वस्तुस्थिति पनि बुझिरहेको थिएँ। मलाई यस्तो अस्पताल चाहिएको थियो, जहाँ क्यान्सरको शल्यक्रिया, औषधी र सम्पूर्ण उपचार प्रक्रिया सहजै 'एउटै छानामुनि' उपलब्ध होस्। बुझ्दै जाँदा मैले एउटा यस्तो तितो सत्यसँग साक्षात्कार गरेँ, जसका कारण मैले नेपालमा उपचार नै नगर्ने कठोर निर्णय लिएँ।म मेरो घरको एउटा मात्र पुरुष (छोरा) हुँ। मेरी आमा ७१ वर्षकी हुनुहुन्छ। जेठी छोरी १८ वर्षकी, जो त्यतिबेला भर्खरै CSIT को पहिलो सेमेष्टरमा पढ्दै थिइनँ र कान्छी छोरी जम्मा ९ वर्षकी। यस्तो अवस्थामा नेपालका हस्पिटलहरूमा क्यान्सर पत्ता लगाउने र कतै फैलिएको छ कि भनेर हेर्ने 'पेट-सिटि स्क्यान' (PET-CT Scan) मेसिन मात्र होइन, धेरै प्राविधिक कुराहरू व्यवस्थित थिएनन्। उपचारका लागि कहिले भक्तपुर त कहिले ललितपुर दौडिनुपर्ने फितलो व्यवस्थापन मैले आफ्नो अनुसन्धानका क्रममा फेला पारिसकेको थिएँ।मलाई यस्तो स्थान चाहिएको थियो, जहाँ क्यान्सरको औषधी खोज्न म कहिँ पनि भौँतारिनु नपरोस्। किनकि, मैले अघि भेटेका पुराना क्यान्सर बिरामीको कथामा एउटा गम्भीर गल्ती फेला पारेको थिएँ— हस्पिटल बाहिरबाट ल्याइएका प्रमाणित भनिएका औषधीहरू कतै नक्कली त थिएनन् भन्ने प्रश्न मेरो मनमा उब्जिरहेको थियो। कतिपय अवस्थामा बिरामीलाई 'क्यान्सर निको भयो' भनेर फलोअप र पेट-सिटि स्क्यान विना नै घर पठाइएको पनि मैले बुझेको थिएँ। हस्पिटल प्रशासनका मानिसहरूकाे सम्पर्कमा कमिसन एजेन्टहरूले पासाे थापेका हुन्छन भन्ने त मैले क्यान्सर पत्ता लाग्नु भन्दा अगावै बुझि सकेकाे थिए ।अनलाइन र एआई (AI) को अनुसन्धानबाट मैले याे पनि बुझिसकेको थिएँ कि— क्यान्सरको सेल (कोष) अपरेसन गरेर मात्र मर्दैन। ती कोषहरू रगतका नलीहरूमा कतै न कतै जीवितै रहन सक्छन्, जसलाई जरैदेखि निर्मूल पार्न 'किमोथेरापी' नै चाहिन्छ।
कुरुवा आफैँ जब 'आधा डाक्टर' बन्छ
मेरो लगातारको अध्ययनले मलाई धेरै कुरा सिकाएको थियो। किमोथेरापीमा प्रयोग हुने विभिन्न प्रकारका क्यान्सरका औषधीहरू फरक-फरक हुन्छन् भन्ने मैले बुझेँ। त्यति मात्र होइन, किमो मिसाउने प्रक्रिया (Chemo Mixing Process) कसरी गरिन्छ, त्यसका लागि कस्तो मेसिन (Biological Safety Cabinet) चाहिन्छ, र बिरामीको स्वास्थ्यको पूर्व-जाँच नगरिकन किमो दिनु हुँदैन भन्ने संवेदनशील विषयमा म पूर्ण रूपमा शिक्षित भइसकेको थिएँ। किमो दिनुअघि मृगौलाको अवस्था (KFT), कलेजोको अवस्था (LFT), र रगतको मात्रा (CBC) अनिवार्य रूपमा जाँच गरेर अध्ययन गर्नै पर्छ। किमोको मिति केही दिन तलमाथि भए फरक पर्दैन, तर हप्तौँ दिनको ढिलाइ घातक हुन्छ भन्ने कुरा मेरो दिमागमा स्पष्ट भइसकेको थियो।मैले सोचेँ— यदि म यी सबै रिपोर्ट र औषधीहरू खोज्न यता र उता भागदौड गर्दा आफैँ बिरामी परेँ भने मेरो पूरा परिवारकै बिचल्ली हुनेछ। त्यसैले, बरु दुई पैसा बढी जाओस्, तर सबै कुरा एउटै छानामुनि व्यवस्थित भएको अस्पताल कहाँ छ त? यो खोज्दै जाँदा मैले नेपालभन्दा भारत नै सहज र सुरक्षित देखेँ।मैले भारत जाने निर्णय गरेँ। मेरो यो निर्णयमा लगभग ५ जना डाक्टर साथीहरूले व्यक्तिगत रूपमा परामर्श दिँदै 'तपाईंको निर्णय एकदम सही छ' भनेर ढाडस दिनुभयो। त्यसपछि मैले भारत यात्राको लागि व्यावहारिक तयारी सुरु गरेँ।अस्पताल खोज्ने र निर्णय लिने मेरो एक चरणको सङ्घर्ष त यहाँ सकियो। तर, अब मेरो अगाडि समस्याहरूको एउटा नयाँ पहाड खडा हुँदै थियो। त्यो पहाड चढ्न त्यति सजिलो थिएन। आगामी दिनमा अपरेसन, किमोथेरापी, बिरामीको सरसफाइ, खानपानको कठोर सतर्कता, र औषधीका भयानक साइड इफेक्टहरू (असरहरू) लाई व्यवस्थापन गर्नुपर्ने चुनौतीहरू मेरा सामुन्ने लामबद्ध थिए। तर, मैले यी सबैलाई निकै सुझबुझ र दृढताका साथ अगाडि बढाउने सङ्कल्प गरिसकेको थिएँ।म अब श्रीमतीको क्यान्सर उपचारका लागि भारततर्फको यात्राको पूर्ण तयारीमा थिएँ। एउटा अचम्मको कुरा के भयो भने, म यसरी नेपाल छाडेर भारत जान लाग्दै गर्दा न कसैले 'नजाऊ' नै भने, न कसैले 'एकदम ठिक गर्यौ' भनेर ढाडस नै दिए। यो सम्पूर्ण अनुसन्धान र अस्पतालको खोजीका क्रममा कसैले पनि 'फलाना ठाउँमा चाहिँ शतप्रतिशत विश्वासिलो उपचार हुन्छ' भनेर ठोकुवा गर्न सकेनन्।यसको पछाडि कुनै रिस वा द्वेष थिएन, यसको एकमात्र कारण थियो— हाम्रो समाजमा क्यान्सरको नाममा फैलाइएको भयावह त्रास। मानिसहरूलाई लाग्छ, यदि क्यान्सरको बिरामीलाई यो अस्पताल जाऊ भनियो र भोलि उपचारकै क्रममा तल-माथि भयो भने जवाफदेही हुनुपर्छ। यही डरका कारण मानिसहरू क्यान्सरको प्रश्नमा सीधा उत्तर दिनबाट पन्छिँदा रहेछन्। क्यान्सरको सामाजिक र मानसिक पाटो कति जटिल छ भन्ने कुरा मैले यो यात्रामा भुक्तभोगी भएर बुझ्दै गएँ।
घरको 'क्यान्सर' र माता कालिकाको भरोसा
अब एउटा विरानो देशमा जानु थियो, जहाँ भाषा, भूगोल र मानिसहरू सबै अपरिचित थिए। कुनै पनि अस्पतालले क्यान्सरको उपचारमा 'ठ्याक्कै यति नै पैसा लाग्छ' भनेर सुरुमा भन्न सकिदैन। तर, बिरामीको परिवारले आफ्नो आर्थिक हैसियत (ल्याकत) ले भ्याउँछ कि भ्याउँदैन भनेर बजेट अनुमान गर्नै पर्ने हुन्छ। मैले यसपटक आफ्नो आर्थिक हैसियत हेरिनँ, बस 'चार तहको अर्थ नीति' लिएर अगाडि बढेँ। हामी एउटा निम्न-मध्यम वर्गीय परिवार। बुबाको स्वर्गारोहण भइसकेको थियो। हाम्रो परिवारमा अदालतबाट अंशबन्डाको फैसला त भइसकेको थियो, तर दाजुभाइ मिलेर मालपोतमा जमिन छुट्टाउन बाँकी नै थियो। कतिपय जग्गामा मोहीको समस्या सुल्झिन बाँकी थियो। सम्पत्तिको नाममा जमिन त थियो, तर त्यो तत्कालीन अवस्थामा बैंकिङ कारोबारका लागि काम नलाग्ने कागजी खोस्टो जस्तै थियो।मेरो मनमा लागेको थियो— यस्तो कठीन परिस्थितिमा दाजुभाइले अवश्य पनि साथ दिनेछन्। तर अफसोस! जग्गा बन्धकी राखेर ऋण निकाल्नका लागि गरिने एउटा सामान्य कागजातमा समेत दाजुहरूले हस्ताक्षर गर्न मानेनन्। यो पीडा आज पनि मेरो हृदयमा एउटा मानसिक 'क्यान्सर' को चोट बनेर बसेको छ। मैले श्रीमतीको शरीरको क्यान्सरसँगै आफ्नै परिवारभित्र लुकेको स्वार्थ र अहङ्कारको अर्को डरलाग्दो क्यान्सरसँग पनि साक्षात्कार गर्नुपर्यो मैले। दाजुहरूको त्यो सोच र आफन्तहरूको मौनताले मलाई भित्रभित्रै अर्को पीडाको खाडलमा धकेल्यो। सायद उहाँहरूको पनि आफ्नै व्यावहारिक समस्या थियो होला भनेर चित्त बुझाउनुको विकल्प थिएन।अन्ततः, कसैका अगाडि दुई हात नथापी, म केवल एउटा अदम्य साहस र माता कालिकाप्रतिको अगाध विश्वासको भरमा आकाशको बाटो हुँदै दिल्लीतर्फ उडेँ। अब मेरो अगाडि एउटा मात्र होइन, धेरै मोर्चाहरूमा युद्ध लड्नु थियो— दिल्लीको नयाँ हावापानीसँगको युद्ध, अस्पताल प्रशासनको कडा सिस्टमसँगको युद्ध, नेपाली भनेर नजिकिने र ठग्ने नेपाली व्यापारीहरूसँगको युद्ध, र सबैभन्दा मुख्य कुरा उपचारका क्रममा बिरामीको मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्ने युद्ध साथै अार्थिक व्यवस्थापनकाे युद्द ।
यो सङ्घर्षका बीच मैले पहिलोपटक बुझेँ— हाम्रा धर्मग्रन्थहरूमा दुर्गा माताका आठवटा हात र तिनमा फरक-फरक हतियार किन हुदा रहेछन्! ती तस्बिरहरूको वास्तविक अर्थ त के रहेछ भने, जब मानिसको जीवनमा ठूला समस्याहरू आउँछन्, तब उसले पनि ती देवीदेवताका हातहरू जस्तै आफ्नो विवेकले धेरै वटा उपाय र हतियारहरू जन्माउनुपर्छ। जसलाई जुन हतियारले परास्त गर्न सकिन्छ, त्यही प्रयोग गरेर जीवनलाई अगाडि बढाउनुपर्छ।
दिल्ली अवतरण र अस्पतालको 'सिस्टम'
शिवरात्रीको बिहान, अर्थात् आइतबार हामी दिल्ली पुग्यौँ। अस्पतालको नजिकै रहेको 'सोमबजार' भन्ने ठाउँमा दैनिक ८०० भारतीय रुपैयाँ (भारु) मा एउटा कोठा भाडामा लियौँ। कोठामा खाना पकाउने भाँडाकुँडादेखि लिएर ओछ्यानसम्मका सबै आवश्यक सामानहरू व्यवस्थित थिए। श्रीमतीलाई खाना खुवाएर आराम गराएपछि म अस्पतालको वस्तुस्थिति बुझ्न एक्लै निस्किएँ।आइतबार भएकाले RGCIRC मा आकस्मिक (Emergency) बाहेकका सबै ओपिडी (OPD) सेवाहरू बन्द थिए। त्यहाँको भूगोल र प्रक्रिया बुझ्दै मैले सोचेँ— बिरामीलाई पहिलोपटक कहाँ लैजाने, कुन डाक्टरलाई भेटाउने, र के-के रिपोर्टहरू देखाउने? यी सबै कुरा मैले नेपालमै छँदा अध्ययन गरिसकेको थिएँ। मेरा डाक्टर साथी, कोलन क्यान्सरका सर्जन डा. बिबुश शर्मासँग मैले धेरै सल्लाह लिएको थिएँ। नेपालबाट हिँड्ने बेला काठमाडौँको सम्यकका डा. देविश प्याकुरेल दाजुले मलाई उपचारका लागि चाहिने सिटी स्क्यानको सिडी (CD) र बायोप्सीको सक्कल बट्टा (Tissue Block/Slides) अनिवार्य रूपमा साथमै लिएर जान विशेष सल्लाह दिनुभएको थियो, जुन मेरो लागि महामन्त्र साबित भयो।सोमबार बिहानै हामी अस्पताल पुग्यौँ। अस्पतालको हेल्प डेस्कमा रहेका कर्मचारीहरूले हाम्रो कागजात हेरेर निकै सहयोग गरे। दर्ता शुल्कबापत १६०० भारु बुझाएपछि हाम्रो CR Number अर्थात् बिरामीको स्थायी पहिचान पत्र तयार भयो। त्यसपछि अस्पताल प्रशासनले नै हामीलाई सम्बन्धित रोगको विशेषज्ञ डाक्टरको ढोकासम्म पुर्याइदियो। यो चुस्त र व्यवस्थित प्रणाली मलाई निकै मनपर्यो।त्यहाँ डाक्टरहरूको एउटा उत्कृष्ट 'टिम वर्क' हुँदो रहेछ। पहिलो चरणमा जुनियर डाक्टरहरूले हाम्रो सम्पूर्ण इतिहास र रिपोर्टहरू बुझ्दै कम्प्युटरमा डिजिटल फाइल तयार गरे। पुराना रिपोर्टका आवश्यक फोटोकपीहरू लिए। त्यसपछि उनीहरूले हामीलाई सिटी स्क्यानको सिडी र बायोप्सीको बट्टा अस्पतालकै ल्याबमा 'रिभ्यू' (पुनः परीक्षण) का लागि बुझाउन निर्देशन दिए। साथै, रगतको विस्तृत जाँच र छाती तथा पेटको नयाँ सिटी स्क्यान गराउन भन्दै सकेसम्म आजै यी सबै प्रक्रिया सकाउन आग्रह गरे।हामी तुरुन्तै परीक्षणतर्फ लाग्यौँ। ११ हजार भारु तिरेर रगतको जाँच गरायौँ भने सिटी स्क्यानका लागि २7 हजार भारुको बिल काटेर भोलि बिहानको समय तय गर्यौँ। नेपालबाट ल्याएको बायोप्सीको बट्टा रिभ्यूका लागि १७ हजार भारु बुझाएर ल्याबमा दियौँ। सुरुमा मेरो मनमा लाग्यो— नेपालमा बायोप्सी गर्दा जम्मा २ हजार नेपाली रुपैयाँ मात्र खर्च भएको थियो, यहाँ रिभ्यू गर्न मात्र किन यति धेरै महँगो? तर, आज यो अनुभव लेखिरहँदा मैले बुझिसकेको छु— त्यो रिभ्यू केवल क्यान्सर छ कि छैन भन्नका लागि मात्र होइन, बरु क्यान्सरको गहिराइ, त्यसको सूक्ष्म प्रकार (Sub-type) र फैलावटको अवस्था जस्ता वृहत् कुरा वैज्ञानिक रूपमा निर्धक्क हुनका लागि गरिँदो रहेछ।हामी रिपोर्टहरूको प्रतीक्षा गर्दै कोठामा फर्किएका मात्र थियौँ, हस्पिटलबाट आकस्मिक फोन आयो— "बिरामीको हेमोग्लोबिन निकै कम छ, भोलि बिहानै हस्पिटल आएर रगत चढाउनुपर्छ।"
शल्यक्रियादेखि किमोथेरापीको रासायनिक हतियारसम्म
भारतको त्यो विरानो भूमि, रोगको अनभिज्ञता र मनमा अनेकौँ आशङ्काहरूका बीच अब मलाई धेरै कुरा निकै होसियारीका साथ नियाल्नु थियो। बुधबार हामी अस्पतालमा भर्ना भयौँ र शुक्रबार मेरी श्रीमतीको मेजर अपरेसन (शल्यक्रिया) भयो। अपरेसनपछि उनलाई २ दिन सर्जिकल आईसीयू (SICU) मा राखियो। आइतबार सामान्य वार्डमा सारियो र सोमबार नै हामीलाई अस्पतालबाट डिस्चार्ज गरियो। दिल्लीको अस्पतालको यो चुस्तता र गति साँच्चै लोभलाग्दो थियो।डिस्चार्जपछि हरेक ३-४ दिनमा हामी फलोअपका लागि अस्पताल धाइरहेका थियौँ। शल्यक्रिया भएको २१ दिनपछि सर्जन डाक्टरले हामीलाई मेडिकल अंकोलोजिस्ट (Medical Oncologist) को ओपिडीमा पठाउनुभयो। अब हाम्रो यात्रा दोस्रो चरणको युद्ध अर्थात् 'किमोथेरापी' तर्फ मोडिँदै थियो। हामीलाई २१-२१ दिनको अन्तरालमा जम्मा ४ साइकल किमो गराउनुपर्ने तालिका दिइयो। डाक्टरले किमोका बेला अपनाउनुपर्ने सामान्य सावधानीहरू बुझाउनुभयो र सोही दिन हामी पहिलो किमोथेरापीका लागि डे-केयर वार्डमा भर्ना भयौँ।
किमोथेरापीको भ्रम र कुरुवाले बुझ्नै पर्ने सत्य
हाम्रो नेपाली समाजमा 'किमो' भन्ने शब्द एउटा रक्तबीज राक्षस जस्तै डरलाग्दो भ्रम बनेर स्थापित भएको रहेछ। जब मैले सामाजिक सञ्जालमा 'आजबाट श्रीमतीको किमो सुरु हुँदैछ' भनेर लेखेँ, तब धेरै आफन्त र शुभचिन्तकहरूले 'किमो गरेपछि त बिरामीको कपाल झर्छ, हातखुट्टा काला हुन्छन्, मान्छे झन् गल्छ र ज्यानै जान्छ' भन्ने नकारात्मक कुराहरू गरे। उनीहरूमा यो डर हुनुको मुख्य कारण अज्ञानता नै थियो। मानिसहरूले किमो औषधी किन प्रयोग गरिन्छ, यसको उद्देश्य के हो, र यसका साइड इफेक्ट (असर) बाट बच्नका लागि घरमा कस्ता सतर्कता अपनाउनुपर्छ भन्ने विषयमा कहिल्यै बुझ्न खोज्दा रहेनछन्। किमोथेरापी भनेको शरीरभित्र लुकेका क्यान्सरका कोषहरूलाई खोजेर मार्ने एउटा 'सैनिक' जस्तै हो। शल्यक्रिया गरेर मुख्य ट्युमर फाले पनि रगतको नलीमा कतै सूक्ष्म कोषहरू लुकेका छन् कि भनेर यो औषधी दिइन्छ। यो सैनिकले शरीरभित्र लगातार १५ दिनसम्म २४सै घण्टा क्यान्सरका कोषहरूसँग युद्ध लड्नुपर्ने हुन्छ। त्यसैले डाक्टरले पहिलो दिन नसाबाट (IV) हस्पिटलमै औषधी दिन्छन् भने, बाँकी १४ दिन घरमै खाने ओरल किमो (Capecitabine) ट्याब्लेट दिइन्छ।
किमो चलिरहेको बेला बिरामी र केयरटेकरले अपनाउनुपर्ने कठोर घरेलु सैनिक नियमहरू यस्ता छन्:घरमा खाने किमोको औषधी ठीक १२-१२ घण्टाको अन्तरालमा, तोकिएको समयमै खुवाउनुपर्छ। एक मिनेट पनि ढिला गर्नु हुँदैन। किमोले शरीर कमजोर बनाउने भएकाले हरेक १-१ घण्टामा केही न केही पौष्टिक तत्त्व खाइरहनु राम्रो हुन्छ। तर, डाक्टरले निषेध गरेका खानेकुरा (काँचो सलाद, नपाकेका फलफूल, बासी खाना) बाट कडा परहेज गर्नुपर्छ। क्यान्सरको प्रकृति अनुसार डाइट फरक हुने भएकाले डाक्टरको सल्लाह अनिवार्य हुन्छ। किमो चढाएपछि बिरामीको रोग प्रतिरोधात्मक क्षमता (Immunity) शून्य बराबर हुन्छ। यस्तो बेला स्वस्थ मानिसको शरीरमा हुने सामान्य रुघाखोकीको भाइरसले पनि बिरामीलाई गम्भीर इन्फेक्सन गराउन सक्छ। त्यसैले मैले बिरामीलाई कहिल्यै मानिसहरूको हुलमा लगिनँ, भेट्न आउनेहरूलाई भुइँतल्लामै रोकेँ। खाना पकाउँदा र खुवाउँदा मास्क र पूर्ण सरसफाइ अपनाएँ। फलस्वरूप, मेरी श्रीमतीलाई पूरै किमो अवधिभर एकपल्ट पनि ज्वरो आएन। मैले घरमा १५ दिनको एउटा व्यवस्थित चार्ट बनाएको थिएँ। जसमा बिहान ७ बजे र बेलुकी ७ बजे ज्वरो नापेर रेकर्ड राख्ने, २४ घण्टामा के-के खाना खाइयो, र दिसा-पिसाब कति पटक र कस्तो भयो— सबै कुरा डायरीमा नोट गर्थेँ। यसले बिरामीको शारीरिक सन्तुलन बुझ्न र डाक्टरलाई विवरण दिन निकै सजिलो बनायो। हरेक २१ दिनमा अर्को किमो गर्न जानुअघि हामी रगतको जाँच (KFT, LFT, CBC) गराउँथ्यौँ। जब सबै अंगहरूले किमो सहन सक्छन् भन्ने 'ग्रिन सिग्नल' प्राप्त हुन्थ्यो, तब मात्र अर्को चक्र सुरु गर्थ्यौँ।
किमो मिक्सिङ र औषधीको 'क्रस-चेक'
अस्पतालमा बस्दा मेरो एउटा कडा नियम थियो— म किमोको औषधी किनेर ल्याएपछि, त्यसलाई मिक्सिङ (मिसाउने) कोठामा पठाउनुअघि औषधीको बोटल र सिसीमा स्थायी मार्करले आफ्नो हस्ताक्षर (Signature) गरिदिन्थेँ। क्यान्सरका औषधीहरू निकै महँगा हुन्छन्। मेरो मनमा एउटा शङ्का थियो— यति ठूलो अस्पतालमा झुक्किएर हाम्रो औषधी अरूलाई वा अरूको औषधी हामिलाई पर्न सक्छ, अथवा मिक्सिङका क्रममा कतै तल-माथि हुन सक्छ। त्यसैले म हस्ताक्षर गर्थेँ र नर्सहरूलाई भन्थेँ, "मिक्सिङ भइसकेपछि मेरो हस्ताक्षर भएको त्यो खाली बोटल पनि औषधीसँगै भित्र फर्काएर मलाई देखाउनुहोला।"सुरु-सुरुमा हस्पिटलका नर्सहरू भन्थे, "यहाँ यति ठूलो सिस्टम छ सर, यस्तो शङ्का गरिरहनु पर्दैन।" तर, मैले आफ्नो जिद र सतर्कता छोडिनँ। बिस्तारै मेरो यो अनुशासित र चनाखो बानीबाट त्यहाँका नर्स र स्वास्थ्यकर्मीहरू निकै प्रभावित भए। उनीहरूसँग मेरो बडो आत्मीय सम्बन्ध बन्यो, जसका कारण पछि-पछि हामी हस्पिटल जाँदा वातावरण निकै रमाइलो र सहज हुन थाल्यो।
मानसिक बल र नयाँ बिहानीको सङ्कल्प
बिरामीलाई अनावश्यक भीडभाडबाट टाढा राखेकाले होला, उनी मानसिक रूपमा दिनप्रतिदिन झन् बलियो र सक्षम हुँदै गइरहेकी थिइन्। कोठामा बस्दा हामी रोग वा औषधीका बारेमा कहिल्यै कुरा गर्दैनथ्यौँ। किनभने, सामान्य रोगकै बारेमा पनि धेरै कुरा गरिरहँदा मानिसको मनोबल कमजोर हुन सक्छ र फरक-फरक मानिसका फरक विचारधाराले बिरामीलाई अन्योलमा पार्न सक्छ। हामी कोठामा बस्दा भविष्यका सुन्दर योजनाहरू बुन्थ्यौँ, पुराना रमाइला दिनहरू सम्झिन्थ्यौँ, अनलाइनबाट घरमा छोरीहरूसँग भिडियो कल गर्थ्यौँ र फुर्सदमा टिभी हेरेर हाँस्थ्यौँ। हामीले क्यान्सरलाई आफ्नो कोठामा कहिल्यै प्रवेश गर्न दिएनौँ, त्यसलाई हस्पिटलको बेडमै छाडेर आउँथ्यौँ। यही अभेद्य आत्मविश्वास र अनुशासनका कारण हाम्रो रासायनिक युद्धको पहिलो खण्ड सफलतापूर्वक सम्पन्न भयो।
औषधिको 'क्रस-चेक', विज्ञापनको खेती र भ्रमको चिरफार
हाम्रो उपचारको लामो यात्रा चलिरहँदा हामी काठमाडौँ र दिल्ली आउने-जाने गरिरह्यौँ। यही आउजाउको क्रममा मैले चिकित्सा क्षेत्रको एउटा निकै संवेदनशील पाटो र अर्कातर्फ क्यान्सरको नाममा समाजमा भइरहेको झुटो प्रचार, ठगी धन्दा, र अन्धविश्वासको डरलाग्दो चक्रव्यूहलाई प्रत्यक्ष महसुस गर्ने मौका पाएँ।मैले सामाजिक सञ्जालमा आम नागरिकलाई सचेत गराउने उद्देश्यले लेखेका पोस्टहरूमा समेत यति धेरै भ्रमपूर्ण विज्ञापनका 'कमेन्ट' आउन थाले, जसलाई रोक्न पनि सकिँदैनथ्यो। कसैले "फलाना आयुर्वेदिक हस्पिटल जानुस्, क्यान्सर शतप्रतिशत निको हुन्छ" भन्थे, त कसैले "फलाना मन्दिरमा गएर हवन र पूजा गर्दा क्यान्सर भाग्छ" भन्दै धार्मिक आस्थालाई हतियार बनाएर मानिसको विवशतामाथि खेल्न खोज्थे। यो भोगाइ क्यान्सर लागेका हरेक परिवारले भोगेकै सत्य हो। यस व्यापारिक र सामाजिक भ्रमको चिरफार म केही समयमै गर्नेछु, तर त्योभन्दा पहिला आधुनिक अस्पतालको उपचार प्रक्रियाभित्र बिरामी र डाक्टर दुवैबाट हुन सक्ने मानवीय गल्ती र हाम्रो सजगताबारे कुरा गरौँ, जुन जीवन बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण छ।
डाक्टर भगवान् होइनन्: 'KFT' र 'LFT' को त्यो आँखा उघार्ने भोगाइ
अस्पतालमा हाम्रो हरेक ओपिडी (OPD) परामर्शपछि डाक्टरहरूले बिरामीको अवस्था हेरेर आगामी उपचारको 'रिभ्यु रिपोर्ट प्लान' तयार गर्थे। पहिलो किमो चढाउनुअघि डाक्टरको योजना स्पष्ट थियो— बिरामीलाई 'क्यापाेक्स' (CAPOX) किमो चलाउने। तर, किमो दिनुपूर्व बिरामीको मृगौला (KFT), कलेजो (LFT), र रगतको मात्रा (CBC) अनिवार्य रूपमा परीक्षण गर्ने र ती रिपोर्टहरू सकारात्मक आएमा मात्र बिरामीको तौल र उचाइ अनुसार औषधिको मात्रा (Dose) मिलाएर किमो दिने। पेसागत र अनुसन्धानात्मक बानीका कारण म यी सबै प्राविधिक रिपोर्टहरू आफैँ पनि सुरुदेखि नै गहिरिएर हेर्ने गर्थेँ।जब हामी दोस्रो किमोका लागि ओपिडीमा गयौँ, माथिका सबै रिपोर्टहरूले सहि मार्ग नै देखाइरहेका थिए। तर, रगतमा सोडियम (नुनको मात्रा) अलि कम देखियो। डाक्टरले हामीलाई "घरमा कुन नुन प्रयोग गर्नुहुन्छ?" भनी सोध्नुभयो। हामीले नुन कम्पनीको नाम बतायौँ। फलस्वरूप डाक्टरले खानामा नुनको मात्रा केही बढाउने सल्लाह दिँदै हामीलाई दोस्रो किमोका लागि 'डे-केयर' (Day-care) वार्डमा पठाउनुभयो।त्यहाँ अस्पतालको एउटा बडो प्रशंसनीय नियम देखियो। डाक्टरले किमो गराउनु भनेर लेखिदिए पनि अस्पतालको औषधि विभाग र सिनियर नर्सहरूले त्यसलाई अन्तर्राष्ट्रिय मापदण्डको निर्देशिका (NCCN Guidelines) अनुसार छ कि छैन भनी पुनः 'क्रस-चेक' गरेर मात्र औषधिको 'प्रोटोकल' तयार पार्दा रहेछन्। यो प्रक्रियाले गर्दा समय केही थप लागे पनि गलत औषधिको प्रयोग हुने जोखिम शून्य हुन्थ्यो।प्रोटोकल बनेपछि हामीलाई बेड नम्बर दिइयो। बेडमा पुगेको केही बेरमै औषधि विभागबाट बिलसहित किमोका औषधिहरू आए। नर्सले हाम्रो सीआर नम्बर (CR Number) र बिरामीको नाम क्रस-चेक गरिन् र मलाई पनि 'एकपल्ट आफैँ औषधि हेर्नुस्' भनिन्। मैले सन्तोष मान्दै औषधि चेक गरेर नर्सलाई दिएँ। नर्सले पुनः क्रस-चेक गरी त्यसलाई 'किमो मिक्सिङ' (औषधि मिसाउने विशेष कोठा) मा पठाइन्। त्यो औषधिको बट्टा मिक्सिङ कोठामा जाँदै गर्दा मैले मोबाइलबाट त्यसको फोटो खिचेँ। मिक्सिङ गर्ने ठाउँका डाक्टरसँग अनुमति लिएर सोधेँ, "सर, यो बोटल मिक्स भएपछि खाली बट्टा मैले पाउन सक्छु?" उहाँले भन्नुभयो, "अवश्य पाउनुहुनेछ, यो ३० मिनेटपछि औषधिसँगै वार्डमै पुग्छ।" मैले उहाँकै अनुमति लिएर त्यो औषधिको मुख्य बोटलमा स्थायी मार्करले आफ्नो हस्ताक्षर (Signature) गरेँ। वार्डमा पुगेको आधा घण्टामा औषधि आइपुग्यो, र सँगै मेरो हस्ताक्षर भएकै खाली बोटल पनि आयो। म निर्धक्क भएँ। उपचारमा कुनै पनि मानवीय त्रुटि वा औषधि साटफेर हुने लापरवाही नहोस् भन्नका लागि केयरटेकरले यस्तो सुरक्षा नीति लिनु आवश्यक छ, जसले उपचारलाई सधैँ सही मार्गमा राख्छ।६ घण्टापछि नसाबाट दिइने (IV) किमोको काम सकियो र हामीले डिस्चार्ज समरी (Discharge Summary) पायौँ। तर, त्यो डिस्चार्ज समरी पढ्दा मैले एउटा कुरा विचार गरेँ— त्यहाँ १४ दिनपछि अर्को किमो गर्नुअघि 'केवल CBC (रगत) मात्र चेक गर्ने' भनेर लेखिएको थियो। मैले ठट्टा गर्दै श्रीमतीलाई भनेँ, "लौ बुढी, यसपालि पैसा बच्ने भयो, अब त CBC मात्र चेक गरे पुग्ने रहेछ।" हामी १४ दिनको ओरल किमो (Capecitabine) लिएर कोठामा फर्कियौँ। राति खाना खाएर सुत्ने बेला मेरो व्यावसायिक र क्रिटिकल दिमागमा एउटा प्रश्नले घोचिरह्यो— "पहिलो किमोमा डाक्टरले KFT र LFT अनिवार्य भनेका थिए, यसपालि किन नपर्ने लेखे? आखिर यो KFT र LFT भनेको के हो?" मैले तुरुन्तै एआई (AI) प्रविधिको सहयोग लिएर अनुसन्धान गरेँ। जब मैले बुझेँ कि यो त किमोको कडा विष पचाउने र फाल्ने मुख्य अङ्गहरू—मृगौला (Kidney) र कलेजो (Liver) को आन्तरिक क्षमता जाँच्ने रगतको परीक्षण हो, तब मेरो आँखा खुल्यो। पैसा केही बढी लागे पनि यो परीक्षण नगराई किमो दिनु बिरामीको जीवनलाई जोखिममा पार्नु हो भन्ने मैले बुझेँ।फलस्वरूप, तेस्रो किमोका लागि अस्पताल जानुअघि मैले डाक्टरले नलेखे पनि आफ्नै विवेकले KFT, LFT र CBC सबै परीक्षण गराएर रिपोर्ट हातमा लिई ओपिडीमा छिरेँ। डाक्टरले रिपोर्ट पल्टाएर हेर्दा कलेजोको सूचक (Liver Enzymes) मा केही उतारचढाव र समस्या देखिइसकेको रहेछ! डाक्टरले तुरुन्तै भन्नुभयो, "बिक्रम जी, राम्रो गर्नुभयो यो टेस्ट गराएर। आजको किमोसँगै कलेजो बचाउनका लागि यो भिटामिन औषधि पनि खानुपर्छ।" जब मैले यो घटना भोगेँ, तब मेरो अर्को आँखा खुल्यो— डाक्टर पनि भगवान् होइनन्, उनीहरू पनि हाम्रै जस्ता सुख-दुःख, थकान र तनाव भोग्ने साधारण मानिस हुन्। सधैँ सयौँ बिरामीको चापमा बस्दा लेख्ने बेला उनीहरूबाट पनि त्रुटि हुन सक्छ, कुनै परीक्षण छुट्न सक्छ। धन्न, म सचेत थिएँ र आफैँ टेस्ट गराएछु। यदि मैले डाक्टरको लेखेको कुरामा मात्र आँखा चिम्लेर भरोसा गरेको भए, कलेजोको त्यो समस्या लुक्न सक्थ्यो र किमोले झन् ठूलो क्षति पुर्याउन सक्थ्यो। त्यसैले बिरामी र कुरुवा आफैँ उत्तिकै चनाखो र शिक्षित हुनु अनिवार्य छ।
नेपाली समाज र 'घमण्ड' को सामाजिक मुकुन्डो
हरेक किमोथेरापीको दुई दिनपछि बिरामीलाई कोठामा राखेर म केही दिनका लागि नेपाल आउने गर्दथेँ। नेपाल आउनेबित्तिकै आफन्त र छिमेकीहरूको भिडभाड हुने नेपाली घरको बानी नै हो। तर, किमो चलिरहेको बिरामीको रोग प्रतिरोधात्मक क्षमता (Immunity) कमजोर हुने भएकाले बाह्य सङ्क्रमणबाट बचाउनु केयरटेकरको पहिलो कर्तव्य हो। त्यसैले, मैले सामाजिक सञ्जाल फेसबुकबाटै एउटा विनम्र अनुरोध गरेँ— "श्रीमतीको किमोको उपचार चलिरहेको र घरमा पनि ओरल किमो भइरहेकाले, सङ्क्रमणको जोखिम कम गर्न कृपया केही समयका लागि अनलाइन वा भिडियो कलबाट मात्र सम्पर्क गरिदिनुहोला।"तर, हाम्रो नेपाली समाजलाई कतिपय अवस्थामा सही र वैज्ञानिक कुरा पच्दैन भने झैँ भयो। कतिपय आफन्त र समाजका मानिसहरूले मेरो यो स्वास्थ्य सतर्कताको सन्देशलाई 'आफ्नो मान्छे बिरामी हुँदा देखाएको घमण्डको थुप्रो' को रूपमा बुझिदिए! कोठामा आउन खोज्ने कतिपयलाई मैले बिरामीको सुरक्षाका लागि अलि परै राखेँ। यद्यपि, धेरैजसो शिक्षित समुदाय र हितैषी आफन्तहरूले मेरो भावना र चिकित्सा विज्ञानको गम्भीरतालाई निकै सकारात्मक रूपमा लिनुभयो। उहाँहरूले भिडभाड नगरि अनलाइनबाटै निरन्तर हालखबर बुझेर ठूलो मानसिक सहयोग पुर्याउनुभयो। उहाँहरूको त्यो बुझकीपनप्रति म सदैव आभारी छु।
'लुटको खेती': क्यान्सरको नाममा व्यापार र अनलाइन ठगी
सामाजिक सञ्जालको एल्गोरिदम (Algorithm) पनि कस्तो अचम्मको हुन्छ भने, तपाईंले अनलाइनमा जे कुरा बढी खोज्नुहुन्छ, त्यस्तै कुरा तपाईंको स्क्रिनमा ल्याएर थुपारिदिन्छ। मेरो फेसबुकको होमपेज खोल्नेबित्तिकै अब क्यान्सरका बिरामीहरूको सहयोग याचना, विभिन्न आयुर्वेदिक औषधिका विज्ञापन, र तान्त्रिक एवं गुरुहरूका 'क्यान्सर निको पार्ने' दाबीसहितका प्रवचनहरू आउने क्रम सुरु भइसकेको थियो। ती विज्ञापन र दाबी देख्दा मेरो मनमा अनेकन आक्रोशयुक्त शब्दहरू खेल्न थाले। हो, आयुर्वेद हाम्रो प्राचीन र गौरवमय औषधि विज्ञान हो, यसमा म गौरव गर्छु। तर, यो शरीरको रोग प्रतिरोधात्मक क्षमता (Immunity) बढाउन वा स्वास्थ्य रक्षाका लागि सहयोगी (Supportive) हुन सक्छ, क्यान्सर जस्तो जटिल रोगलाई जरैदेखि निर्मूल पार्ने अचुक उपचार यसमा छैन। यदि कोही ८० वर्षको वृद्ध हुनुहुन्छ, जसको शरीरले आधुनिक मेडिकल साइन्सको शल्यक्रिया वा किमोथेरापी सहन सक्दैन र जीवनको बत्ती निभ्ने अवस्थामा छ भने, उहाँको अन्तिम समय सहज बनाउन वा इम्युनिटी बलियो राख्न आयुर्वेदिक जडीबुटी ठिक होलान्। तर, क्यान्सरलाई पूर्ण रूपमा जित्न त मात्र आधुनिक मेडिकल साइन्स, क्यान्सर हस्पिटल र अनुसन्धान केन्द्रहरूको प्रयोगबाट प्रमाणित (Evidence-based) औषधिको विकल्प नै छैन। यो सत्य बुझिसकेका कारण म सजग थिएँ। तर, मलाई केही त्यस्ता विज्ञापनदाता जडीबुटी व्यापारीहरूले फोन समेत गरे। उनीहरूले सुरुमा मिठो कुरा गरेर फकाए र पछि यहाँसम्म भने— "बिक्रम जी, हामी तपाईंको श्रीमतीलाई निशुल्क औषधि दिन्छौँ। तपाईंले उताको एलोपेथिक उपचार पनि गर्दै गर्नुस् र सँगै हाम्रो यो औषधि पनि खुवाउनुस्। बस, तपाईंको फेसबुक पोस्टमा धेरै क्यान्सर बिरामी र पाठकहरूको 'भ्युज' (Views) आउने भएकाले, हाम्रो औषधिको बारेमा अरूलाई मद्दत पुग्ने गरी केही राम्रो कुरा लेखिदिनुहोला।" अब मैले उनीहरूको भित्री खेल स्पष्ट बुझिसकेको थिएँ। यहाँ त रोग र महासङ्कटमा परेर छटपटिएका मानिसहरूलाई भावनात्मक भूलभुलैयामा पारेर आफ्नो व्यापार चम्काउने 'लुटको खेती' भइरहेको रहेछ! तिनीहरू क्यान्सर पीडितको विवशतालाई आफ्नो विज्ञापनको माध्यम बनाउन खोज्दै थिए। मैले उनीहरूको त्यो प्रस्तावलाई तत्काल नकारेँ र बेसरी झपारेर फोन काटेँ। उनले मलाई 'हाम्रो औषधि खाएर धेरै मानिस बाँचेका छन्' भन्ने उदाहरण दिन खोजेका थिए। हो, जडीबुटी खाएर पनि मानिसहरू बाँचेका होलान्, म विश्वास गर्छु। तर, क्यान्सर वैज्ञानिक उपचारले पूर्ण निको भएर स्वस्थ भई बाँच्नु र शरीरभित्र रोगको बम बोकेर भ्रमको भरमा भित्रभित्रै गल्दै बाँच्नुमा आकाश-जमिनको भिन्नता छ। यो व्यापारिक चक्रव्यूहमाथि म आगामी दिनमा अझ वृहत् अनुसन्धान गरेर लेख्ने नै छु।
अन्धविश्वासको विष र 'सोच' को अदृश्य शक्ति
यही यात्राका क्रममा हामीसँगै दिल्लीमा उपचार गर्न जानुभएका एकजना बुबा हुनुहुन्थ्यो, जसको साथमा उहाँको पूरा परिवार पनि थियो। खै कहाँबाट कसले उनीहरूको कान फुकिदिएछ— "कताको एउटा मन्दिरमा गएर ४ दिन बसेर विशेष हवन र पूजा गराउँदा क्यान्सर पूरै निको हुन्छ!" बुबाको परिवारले हस्पिटलको उपचार रोकेर त्यहाँ जाने निधो मलाई सुनाउनुभयो।मलाई यो कुराले भित्रैदेखि चित्त बुझिरहेको थिएन। मेरो बुझाइमा, ईश्वर वा भगवान्को नजरमा हामी संसारका सबै मानिस समान छौँ। ईश्वरको दृष्टिबाट हाम्रो सुख, दुःख, पाप वा पुण्य केही लुकेको छैन। यदि कुनै दुर्गम पहाडको मन्दिरमा विशेष पूजा र हवन गराउँदा मात्रै भगवान्ले रोग नाश गर्ने र अस्पताल बस्दा चाहिँ निको नपार्ने हुन्थ्यो भने, आज यो विश्वमा कोही पनि मानिस बिरामी वा दुःखी हुने थिएनन्। म भगवान् र दैवीय शक्तिमा विश्वास गर्छु, माता कालिका मेरो आस्था हुनुहुन्छ। तर, आस्था छ भन्दैमा 'अन्धविश्वास' मा अन्धो भएर विज्ञान र प्रयोगको सिद्धान्तलाई बिर्सिनु भनेको अमृत सोचेर 'विष' पिउनु जस्तै हो, जसले अन्ततः अमूल्य जीवनलाई मृत्युको मुखमा पुर्याउँछ। क्यान्सरविरुद्धको युद्धमा मेडिकल साइन्स नै एकमात्र अचुक र व्यावहारिक हतियार हो, र त्यो हतियारलाई चलाउने ऊर्जा भनेको हाम्रो सकारात्मक 'सोच' र अभेद्य 'आत्मविश्वास' हो। यो सकारात्मक सोच नै अर्को यस्तो अमूल्य झोल औषधि हो, जसले क्यान्सरलाई आधा परास्त गर्न मद्दत गर्दछ। यस सन्दर्भमा विज्ञान जगत्को एउटा प्रसिद्ध अनुसन्धान मलाई सम्झना आउँछ। बेलायतमा एकजना कैदीलाई मृत्युदण्ड दिने घोषणा भएछ। उनलाई एउटा निकै विषालु सर्प (किंग कोब्रा) ले टोकाएर मार्ने सजाय सुनाइएको थियो। कैदीको आँखा अगाडि त्यो भयानक सर्प ल्याएर देखाइयो, जसले गर्दा उसको मनमा सर्पको विष र मृत्युको डर गहिरो गरी बस्यो। त्यसपछि वैज्ञानिक अनुसन्धानकर्ताहरूको उपस्थितिमा कैदीको आँखामा बाक्लो कालो पट्टी बाँधियो। पट्टी बाँधिसकेपछि, उनलाई त्यो विषालु सर्पले होइन, बरु एउटा सामान्य चिकित्सकको सियो (Needle) ले मात्र थोरै घोचियो। तर अचम्म! सियो घोचिएको केही मिनेटमै त्यो कैदीको मृत्यु भयो। जब उनको पोस्टमार्टम गरियो, तब उनको शरीरमा सर्पको टोकाइ जस्तै मानसिक रूपमा उत्पन्न भएको 'विष' (Toxicity) फेला पर्यो। अर्थात्, उनले त्यो सियोको धाेचाइलाई नै विषालु सर्पको टोकाइ महसुस गरे र उनको आफ्नै मस्तिष्कको नकारात्मक सोचले शरीरमा विष फैलाएर ज्यान लियो। क्यान्सर पनि ठ्याक्कै यही सियो र सर्पको खेल जस्तै हो। क्यान्सर आफैँमा जति खतरनाक छ, त्योभन्दा कयौँ गुणा घातक यसको नाम सुन्नेबित्तिकै मानिसले मनमा पाल्ने डर, नकारात्मक सोच र सामाजिक त्रास हो। यदि हामीले आफ्नो सोचलाई सही बाटोमा राखेनौँ र आत्मविश्वास गुमायौँ भने, रोगले भन्दा अघि हाम्रो डरले हामीलाई सिध्याइदिन्छ। त्यसैले, क्यान्सरसँग लड्न शरीरको मात्र होइन, मस्तिष्कको उपचार पनि उत्तिकै जरुरी छ।
लेखक फाेटाेग्राफर बिक्रम न्याैपाने