Background Image

क्यान्सरको पीडा र भ्रमको खेती

2026-06-25

क्यान्सरको पीडा र भ्रमको खेती: आस्था र विज्ञानको एउटा भोगाइ

‘क्यान्सर’—यो शब्द सुन्नेबित्तिकै धेरै परिवारको होसहवास उड्छ। एकातिर रोगको असीमित पीडा, अर्कोतिर उपचारको अनिश्चितता। तर विडम्बना, यही पीडा र अनिश्चिततालाई केही मानिसरूपी ब्वाँसाहरूले आफ्नो आयआर्जनको मुख्य स्रोत बनाएका छन्। म कुनै डाक्टर वा अनुसन्धानकर्ता विज्ञ होइन, केवल एक साक्षर नागरिक हुँ। पेसाले फोटोग्राफर र व्यक्तिगत जीवनमा आफ्नै परिवारमा क्यान्सरको गहिरो पीडा भोगेको एक भुक्तभोगीका नाताले आज म आफ्ना केही यथार्थ अनुभवहरू यहाँ पस्कन गइरहेको छु।

फोटोग्राफी पेसा, प्रलोभन र भ्रमको अस्वीकार

फोटोग्राफी पेसाका कारण मैले विभिन्न ल्याबका ओपनिङ सेरेमोनीदेखि औषधि उत्पादक कम्पनीका वार्षिक उत्सव तथा विक्रेताहरूका कार्यक्रमहरूमा पुग्ने मौका पाएको थिएँ। त्यहाँ देखेका र सुनेका कुराहरू पछि मेरी श्रीमतीलाई क्यान्सर हुँदा सही उपचार पद्धति छनोट गर्न मेरा लागि ठूलो वरदान साबित भए।आज हाम्रो समाजमा विज्ञानको कसीभन्दा बाहिर रहेका उपचार पद्धतिको भ्रमपूर्ण विज्ञापन गर्ने प्रचारकहरूको ठूलो जमात छ। मेरी श्रीमतीको स्वास्थ्यस्थितिबारे थाहा पाएपछि कतिपयले मलाई प्रलोभन समेत देखाए—"तपाईंको पेजमा धेरै मानिस जोडिएका छन्, हाम्रो औषधिको प्रचार गरिदिनुस्, तपाईंको श्रीमतीको उपचार निःशुल्क गरिदिन्छौँ।" तर, मानिसको ज्यानसँग खेलबाड गर्ने यस्ता भ्रमपूर्ण कुराहरूलाई मैले ठाडै अस्वीकार गरिदिएँ। उल्टै मैले उनीहरूलाई सोधेँ—"यदि यही ठाउँमा तपाईंको आफ्नै श्रीमतीलाई क्यान्सर भएको भए, के तपाईं आफ्नो कम्पनीको यो औषधि खुवाएर मात्र बस्नुहुन्थ्यो?" मेरो प्रश्नपछि उनीहरू नाजवाफ भए।

आस्था र आत्मबलको शक्ति: पूजापाठ कि विज्ञान?

म एउटा वैद्यको छोरा हुँ। मेरो बुबाले जडीबुटी र झारफुक गरेर कतिपय बिरामीलाई निको बनाएको मैले प्रत्यक्ष देखेको छु। म स्वयं पनि ज्योतिषशास्त्र, ग्रहगोचर र तान्त्रिक साधनाहरूमा विश्वास राख्छु। जब मेरी श्रीमती बिरामी परिन्, हाम्रो कुण्डलीमा अष्टम शनिको प्रभाव र राहु-केतुको छाया देखियो। यसको निवारणका लागि मैले १००८ शनि मन्त्र जपेँ, औंठी लगाएँ, कालीमाताको साधना गरेँ अनि कालभैरव र रक्तकालीको पूजा पनि गरेँ।यहाँ प्रश्न उठ्छ—के यी सबै पूजापाठले क्यान्सर निको भयो त? प्रत्यक्ष रूपमा रोग निको भएको पक्कै होइन। तर म भन्छु—यी सबै साधनाले मलाई मानसिक रूपमा ठूलो ऊर्जा र आत्मबल दिए। मेरो आस्था र विश्वासले मलाई विचलित हुन दिएन, जसका कारण मैले सही निर्णय लिन सकेँ। शनिको प्रकोप र मानसिक तनावबाट उठेर मैले आफ्नी श्रीमतीलाई सिधै क्यान्सर अस्पताल (एलोपेथिक उपचार) पुर्‍याउन सकेँ। मैले अस्पताल जाने शुभ दिन र बार जुराएँ होला, तर कुचोले झारेर वा जल पिएर मात्र क्यान्सर निको हुन्छ भन्ने अन्धविश्वासमा म कहिल्यै परिनँ।

निष्कर्ष: हाम्रो पुरातन ज्ञान, इतिहास र आस्थालाई हामीले नकार्नु हुँदैन, किनकि यसले हामीलाई बलियो आत्मबल दिन्छ। तर, विश्वासले सही बाटो देखाउने मात्र हो, वास्तविक उपचार त विज्ञानले नै गर्ने हो।

एउटा दुःखद दृष्टान्त: भ्रमको महँगो मूल्य

अस्पतालमा आत्तिएका बिरामी र तिनका आफन्तहरू प्रायः सजिलो र छिटो निको हुने विकल्पको खोजीमा भौंतारिइरहेका हुन्छन्। यही कमजोरीको फाइदा उठाउन अस्पताल वरिपरि अनेकौं गिरोहहरू सक्रिय रहन्छन्। अस्पताल परिसरमै मेरो भेट मोरङका एक जना दाजुसँग भएको थियो। उहाँका ६२ वर्षीय बुबाको क्यान्सर बल्झिएर गम्भीर अवस्थामा पुगेको रहेछ। कारण सुन्दा म स्तब्ध भएँ। एक वर्षअघि अस्पतालमा उपचार सकिएपछि डाक्टरले हरेक ३-३ महिनामा 'फलोअप'मा आउन भनेका रहेछन्। तर गाउँ गएपछि कसैको लहहैमा लागेर उनीहरूले आयुर्वेदिक भनिएको कुनै जडीबुटी खुवाउन थालेछन्। "क्यान्सर नै निर्मूल पार्छ" भन्ने आश्वासन पाएपछि महिनाको १५ हजार तिरेर औषधि चलाइयो। सुरुमा अलि राम्रो भएजस्तो लागेपछि अस्पतालको फलोअप पूर्ण रूपमा बन्द गरियो। जब केही महिनापछि बुबालाई असाध्यै गाह्रो भयो र पुनः अस्पताल ल्याएर परीक्षण गरियो, तबसम्म क्यान्सर शरीरभरि फैलिसकेको (Metastasized) रहेछ। ती औषधि बेच्ने ठगहरूलाई सोध्दा उनीहरूले "खै हाम्रो औषधिले त राम्रो गरेको थियो, कसरी यस्तो भयो थाहा भएन" भन्ने गैरजिम्मेवार जवाफ दिएर पन्छिए।

आयुर्वेद कि एलोप्याथी? के हो त सही सन्तुलन?

आयुर्वेदिक चिकित्सा पद्धति आफैंमा नराम्रो पक्कै होइन। यो हाम्रो प्राचीन र गौरवशाली पद्धति हो, जसका अनेकौं सकारात्मक पक्षहरू छन्। आयुर्वेदले मानिसको रोग प्रतिरोधात्मक क्षमता (Immunity) बढाउन, स्वास्थ्य रक्षा गर्न वा क्यान्सरका कारण हुने पीडा कम गर्न (Palliative Care) ठूलो मद्दत गर्न सक्छ। तर, यहाँ बुझ्नैपर्ने केही वैज्ञानिक तथ्यहरू छन्:

  • प्रमाणित उपचार: विश्व स्वास्थ्य संगठन (WHO) र आधुनिक चिकित्सा विज्ञानले क्यान्सरको मुख्य उपचारका लागि शल्यक्रिया (Surgery), केमोथेरापी, रेडियोथेरापी र टार्गेटेड थेरापीलाई मात्र प्रमाणित मानेका छन्। यी विधिहरू लाखौं अनुसन्धान र परीक्षणबाट सफल प्रमाणित भएर आएका हुन्।

  • भ्रामक प्रचारबाट सावधान: हिमालयको वा कुनै ऋषिको तस्बिर राखेर जथाभाभी बेचिने जडीबुटीहरू वैज्ञानिक रूपमा क्यान्सर प्रतिरोधी प्रमाणित भएका हुँदैनन्। निरोगी मानिसले स्वास्थ्य राम्रो बनाउन आयुर्वेद अपनाउनु उत्तम हो, तर क्यान्सर भइसकेपछि ती कोषिकाहरूलाई नष्ट गर्न आधुनिक एलोप्याथिक उपचार नै अपरिहार्य हुन्छ।

  • अन्तिम विकल्प र भ्रम: यदि डाक्टरले नै 'अब मेडिकल साइन्सले केही गर्न सक्दैन' भनिसकेको अवस्था छ भने बिरामीको बाँकी जीवन सहज बनाउन वा आयु लम्ब्याउन प्राकृतिक विधि अपनाउनु एउटा कुरा हो। तर, निको हुने पूर्ण सम्भावना हुँदाहुँदै विज्ञानलाई लत्याएर प्रमाणित नभएका झोल औषधिको पछि लाग्नु आत्महत्या सरह हो।

मेराे अनुरोध

हामीले आधुनिक विज्ञान र हाम्रो परम्परागत ज्ञानबीच सन्तुलन कायम गर्न सिक्नुपर्छ। पूजापाठ गर्नुहोस्, यसले आत्मबल बढाउँछ; तर क्यान्सरजस्तो गम्भीर रोगको उपचारमा अनुसन्धानको लामो बाटो पार गरेर आएको वैज्ञानिक उपचार प्रणाली (एलोप्याथी) लाई नै पहिलो प्राथमिकता दिनुहोस्। धमिलो पानीमा माछा मार्ने यस्ता गिरोहहरूबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ।मैले यो लेख कसैलाई ठेस पुर्‍याउन होइन, बरु मानवीय कर्तव्य ठानेर सचेतना फैलाउन लेखेको हुँ। मेरा यी कुराहरू मेरो विगतको अनुभव, भोगाइ र हेराइमा आधारित छन्। त्यसैले मैले भनेका कुराहरूलाई पनि तपाईं आफैंले अध्ययन गर्नुस्, क्रस-चेक गर्नुस् र केवल विशेषज्ञ डाक्टरको परामर्शलाई मात्र अन्तिम सत्य मान्नुहोस्। तपाईंको स्वास्थ्य नै तपाईंको परिवारको खुसी हो। कृपया बेलैमा सचेत बनौँ।