क्यान्सर जित्ने मन्त्र: आत्मबल, सजगता र सही उपचार विधि | Cancer Awareness
क्यान्सर जित्ने मन्त्र
मानव जीवन अमूल्य छ, तर यसलाई जुनसुकै बेला पनि विभिन्न रोगव्याधिले चुनौती दिन सक्छन्। तिनै घातक चुनौतीहरूमध्ये एक हो—क्यान्सर। आधुनिक चिकित्सा विज्ञानको विकाससँगै क्यान्सर अब 'डरलाग्दो ' रोग रहेन, तर यसको सामना गर्न जति दह्रो आत्मबल चाहिन्छ, त्यति नै ठूलो व्यावहारिक सजगता र सही सूचनाको पनि आवश्यकता पर्दछ। क्यान्सरसँग डराउने होइन, बरु सही समयमा रोग पत्ता लगाएर धैर्यतापूर्वक व्यवस्थित उपचारतर्फ लाग्नु नै बुद्धिमानी हो। याे अदृश्य रोगको समयमै खोजी गराै .क्यान्सरको सबैभन्दा जटिल पक्ष भनेकै यसको सुरुआती मौनता हो। शरीरमा कुनै ठूलो समस्या वा दुखाइ नभए पनि भित्रभित्रै क्यान्सर हुर्किरहेको हुन सक्छ। सामान्य देखिने मानिसमा पनि यो रोग सल्किसकेको हुन सक्छ, तर त्यसले आफ्नो भयावह रूप देखाउन बाँकी मात्रै हुन्छ। त्यसैले, रोग लाग्नुभन्दा अगावै वा सुरुआती चरणमै पत्ता लगाउन वार्षिक वा अर्ध-वार्षिक रूपमा सम्पूर्ण स्वास्थ्य परीक्षण (होल बडी चेकअप) गर्नु अपरिहार्य छ। यस्तो परीक्षण कहाँ गर्ने र कति खर्च लाग्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। हामीले नियमित गर्ने रगत र अन्य परीक्षणहरू सधैं अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त (ISO Certified) र विश्वसनीय प्रयोगशाला (ल्याब) मा मात्रै गराउनुपर्छ। प्रयोगशाला छनोट गर्दा त्यो कति पुरानो हो, त्यहाँ सुरक्षा सतर्कता अपनाइएको छ कि छैन र त्यसको विश्वसनीयता कस्तो छ भन्ने कुरामा उपभोक्ता आफैं सचेत हुनुपर्छ। यस्तो नियमित परीक्षणको खर्च एउटा राम्रो सुट सिलाउने वा परिवारलाई एक छाक रेष्टुरेन्टमा लैजाने खर्च बराबर मात्र हुन्छ। थोरै सजगताले भविष्यको ठूलो आर्थिक र मानसिक संकट टर्न सक्छ।
रोगको निदान र उपचारको प्रक्रिया के हुन्छ ?
यदि दुर्भाग्यवश क्यान्सर प्रमाणित भयो भने पनि अलिकति पनि नआत्तिईकन धैर्य हुनु पहिलो सर्त हो। क्यान्सर कुन प्रकारको हो, त्यसको सूक्ष्म निदान (Detailed Diagnosis) जरुरी हुन्छ। उदाहरणका लागि, कोलोन क्यान्सर हो भने बायोप्सी परीक्षण विस्तृत रूपमा गराउनुपर्छ। बिरामी र परिवारले चिकित्सकसँग खुलेर आफ्नो रोगको अवस्था (Stage) र फैलावटबारे सोध्नुपर्छ। कतिपय अवस्थामा सुरुमै स्टेज थाहा नहुन सक्छ र शल्यक्रिया (Operation) पछि मात्रै मासुको ठूलो टुक्राको बायोप्सीबाट वास्तविक अवस्था खुल्ने चिकित्सकहरू बताउँछन्। यस्तो अवस्थामा सीटी स्क्यान (CT Scan) जस्ता आधुनिक प्रविधि प्रयोग गरेर 'क्रस भेरिफाई' गर्न सकिन्छ। जब रोगको स्टेज प्रष्ट हुन्छ, तब मात्र उपचारको मार्गचित्र कोर्न सहज हुन्छ। क्यान्सरको उपचार विशिष्ट र व्यक्तिगत हुन्छ; सबै बिरामीलाई एउटै उपचार लागू हुँदैन। रोगको प्रकृति अनुसार कसैलाई केवल किमोथेरापी मात्र गरे पुग्छ भने कसैलाई किमोपछि शल्यक्रिया, शल्यक्रियापछि किमो, वा रेडिएसन, किमो र शल्यक्रियाको संयुक्त विधि (Multimodality Treatment) आवश्यक पर्न सक्छ। डाक्टरले विरामिकाे चेक गरेझै विरामिकाे परिवारले पनि अस्पताल र चिकित्सकको अनुसन्धान चेक गरेनु जरूरि छ । उपचारको निर्णय गर्नुअघि अस्पताल र चिकित्सकको बारेमा बृहत् अनुसन्धान हुनु अति आवश्यक छ। हतारमा अस्पताल दौडिनु भन्दा पहिले त्यहाँको व्यवस्थापन कस्तो छ, आधुनिक र नयाँ मेसिनहरू उपलब्ध छन् कि छैनन्, र औषधिको नियमित आपूर्ति छ कि छैन भन्ने बुझ्नुपर्छ। कतिपय अस्पतालमा किमो गराउने समयमा औषधि उपलब्ध नभएर बिरामीले सास्ती भोग्नुपरेका उदाहरणहरू छन्। क्यान्सरको उपचार एउटा समूहको प्रयास (Team Work) हो, जहाँ सर्जन, मेडिकल अंकोलोजिस्ट र रेडिओलोजिस्टको समन्वय हुनुपर्छ। उपचार गर्ने शल्यचिकित्सक (Surgeon) को अनुभव र नेपाल मेडिकल काउन्सिल (NMC) नम्बर सहित उनको पृष्ठभूमिबारे आवश्यक अध्ययन गर्नु बिरामीको अधिकार हो।अस्पतालभित्रै औषधिको सहज व्यवस्थापन हुनुपर्छ ताकि आफन्तले औषधि खोज्दै भौंतारिनु नपरोस्। यदि कुनै चिकित्सकले 'अस्पतालमा औषधि महँगो छ, बाहिरबाट किन्नुस्' भन्छन् भने तत्काल अस्पताल प्रशासनमा उजुरी गर्नुपर्छ। बाहिर जथाभाभी बेचिने औषधिमा कमिसनको खेल हुन सक्छ र त्यो नक्कली (Duplicate) हुने जोखिम समेत रहन्छ। त्यसैले औषधि मान्यताप्राप्त र अनुमतिप्राप्त मात्रै प्रयोग गर्नुपर्छ। कुनै एउटा अस्पतालको व्यवस्था राम्रो लाग्यो भन्दैमा हतारिनु हुँदैन; दोस्रो अस्पतालमा पनि 'क्रस चेक' गरेर अनुमानित लागतको तुलना गर्नु बुद्धिमानी हुन्छ।
अस्पतालभित्रको सजगता र कुरुवाको भूमिका
क्यान्सरको उपचार छोटो अवधिमा सकिने विषय होइन। यसका लागि कम्तीमा ३ महिनादेखि १ वर्ष वा सोभन्दा बढी समय निरन्तर लाग्न सक्छ। त्यसैले मानसिक रूपमा बलियो बन्दै परिवारको व्यवस्थापन मिलाउनुपर्छ। बिरामीको साथमा चौबीसै घण्टा बस्ने कुरुवा अत्यन्तै चनाखो, बुझक्की र व्यावहारिक हुनुपर्छ। हामीले चिकित्सकलाई 'भगवान्' को पगरी गुथाइदिनु हुँदैन; उनीहरू पनि मानिस नै हुन् र उनीहरूमा पनि मानवीय कमजोरी वा लोभ हुन सक्छ। अस्पतालमा बस्दा आफूले खरिद गरेको महँगो औषधिको बोटल वा फाइलमा आफ्नै हस्ताक्षर गर्ने र प्रयोग भइसकेपछि खाली भाँडो क्रस-चेक गर्ने बानी बसाल्नुपर्छ, ताकि औषधिको सट्टा विनाऔषधिको पानी मात्र पर्ने वा औषधि गायब हुने कुनै गुन्जायस नरहोस्। अस्पतालले दिने हरेक औषधिको बिल सुरक्षित राख्नुपर्छ, भोलि कुनै गल्ती वा विवाद भएमा त्यो नै कानुनी प्रमाण हुन्छ। अस्पताल न त कुनै मन्दिर हो, न त पार्टी प्यालेस नै। यो त शरीर र रोगको शुद्धीकरण गर्ने एउटा पवित्र स्थल हो, जसलाई आमाको कोखजस्तै शान्त र स्वच्छ राख्नुपर्छ। त्यहाँ रहँदा सधैं सफा रहने र स्वास्थ्यकर्मीहरूसँग नरम एवं शिष्ट भाषामा संवाद गर्नु आवश्यक छ।
नेपाल र भारतमा उपचार: यथार्थ र भ्रम
सामान्यतया क्यान्सरको चिकित्सा पद्धति नेपाल र भारतमा उस्तै प्रकृतिको छ। कतिपय अवस्थामा मूल उपचार खर्च नेपालको तुलनामा भारतमा केही सस्तो पनि हुन सक्छ, तर त्यहाँ जाँदा लाग्ने हवाई भाडा, आवास र बसाइ खर्चले गर्दा समग्र लागत बढ्न जान्छ। रोगको अवस्था र प्रकृति हेरी नेपाल वा भारतमा यसको उपचार खर्च न्यूनतम २ लाख रुपैयाँदेखि १ करोड वा सोभन्दा माथि सम्म पुग्न सक्छ। खर्चको यो दायरा रोगको जटिलता र बिरामीको आत्मबलमा पनि निर्भर गर्दछ। परदेशमा उपचार गराउन जाँदा (विशेषगरी दिल्ली जस्ता ठूला सहरहरूमा) थप सचेत हुन जरुरी छ। अस्पतालका गल्लीहरूमा सहयोगीको मुखुण्डो लगाएर नेपाली बिरामीलाई ठग्ने केही तत्वहरू सल्बलाएका हुन्छन्। अर्काको देशमा नेपाली देख्नेबित्तिकै मख्ख परेर हतारमा आत्मीयता बढाउनु हुँदैन; तीमध्ये कोही दलाल वा 'भुस्याहा कुकुर' जस्ता प्रवृत्तिका पनि हुन सक्छन्। तर, सबैलाई एउटै नजरले संशयपूर्वक हेर्नु पनि हुँदैन, किनकि समाजमा साँचो अर्थमा सहयोगी र आत्मीय मानिसहरू पनि भेटिन्छन्। केवल आफ्नो विवेक प्रयोग गरेर सही र गलत मानिस चिन्न सक्नुपर्छ। क्यान्सर शारीरिक मात्र होइन, ठूलो मानसिक र आर्थिक लडाइँ पनि हो। समयमै गरिने स्वास्थ्य परीक्षण, रोग लागेपछि उचित अस्पताल र चिकित्सकको अनुसन्धान, उपचारका क्रममा अपनाइने उच्च चनाखोपन, र दह्रो आत्मबल नै यो लडाइँ जित्ने मुख्य हतियार हुन्। भ्रम र त्रासबाट मुक्त भई विवेकपूर्ण ढङ्गले अगाडि बढेमा क्यान्सरमाथि विजय प्राप्त गर्न सम्भव छ।
नोट: यो लेखाई मेरो व्यक्तिगत अनुभव, बुझाइ र भोगाइमा आधारित एक सचेतनामूलक प्रस्तुति हो। चिकित्सा क्षेत्रका आदरणीय विशेषज्ञ, अनुभवी चिकित्सक एवं यस क्षेत्रसँग सम्बन्धित महानुभावहरूले यसमा भएका कुनै कमी-कमजोरी औंल्याई थप रचनात्मक सुझाव दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु। यहाँहरूको एउटा सही सुझाव र टिप्पणीले उपचार गराइरहेको कुनै पनि परिवारको विश्वास र जीवन बचाउन ठूलो गुन लगाउनेछ। तपाईंको विचारमा के लेख उपयाेगि छ ? प्रतिक्रिया दिनुहोस् र सल्लाह थपेर सेयर गरि अर्को एक जनाकाे जिवनरक्षामा अात्मबल थपिदिनुहाेस