क्यान्सरसँगको सङ्घर्ष र जीवनको आधुनिक रामायण
2026-06-10
क्यान्सर पनि जीवनको एउटा आधुनिक रामायण हाे-#बिक्रमबुझाइ
खै, कहाँबाट अनि कुन अक्षरबाट लेख्न सुरु गरुँ? जहाँबाट सुरु गरे पनि शब्दहरूको यो अविरल बहाव अन्ततः मेरो मनलाई सान्त्वना दिनकै लागि सार्वजनिक भइरहेछन्। यी सार्वजनिक शब्दहरूले कतै कोही पीडामा परेका आत्माहरूलाई थोरै भए पनि राहत दिनेछ भन्ने एउटा दृढ विश्वास बोकेर म आफ्नो मनको कुना-काप्चाबाट भावनाहरू ओसार्दै पाठकहरूमाझ पस्कने गर्छु। मेरो हरेक शब्दमा अलि पृथक् र गहिरो सोच हाेला, किनकि म जीवनलाई केवल बाँच्ने मात्र होइन, यसको भित्री मर्मलाई महसुस गर्ने गर्छु।
यही असार १ गते हाम्रा लागि एउटा विशिष्ट दिन बन्दैछ। हामीले डाक्टरलाई सिटी स्क्यान, एक्सरे तथा रगतको रिपोर्ट बुझाउने दिन हाे। उपचार सुरु गरेको मितिले ठ्याक्कै ९ महिना पुग्दैछ। पौराणिक कथालाई सम्झने हो भने, रामायणमा रावणले सीतालाई अपहरण गरेपछि उनलाई खोज्न र पत्ता लगाउन पनि ९ महिना लागेको थियो। त्यसपछिको १८ दिनको भीषण युद्धपश्चात् मात्रै सीताको रामसँग मिलन भएको थियो।
यो प्रसङ्ग यहाँ किन आयो? धेरैलाई जिज्ञासा लाग्न सक्छ। मेरो लागि यो ९ महिना 'क्यान्सर' नामको आधुनिक रावणले मेरो सीता (मेरी धर्मपत्नी) लाई हरण गरेर बन्धक बनाएको समय थियो।
जब यो सङ्कट आइलाग्यो, मनमा अनगिन्ती प्रश्नहरू उब्जिए— हाम्रै परिवारलाई किन क्यान्सर भयो? मैले त्यस्तो के पाप गरेको थिएँ? यदि यो पूर्वजन्मको फल हो भने, पूर्वजन्ममा पनि मैले के कस्तो महापाप गरेको थिएँ? पछिल्लो समय यी प्रश्नहरूले मेरो मस्तिष्कलाई बारम्बार गिजोलिरहन्थे। तर, यसको सबै निवारण र चित्तबुझ्दो उत्तर अन्ततः रामायणले नै दियो।
हामी मानिसहरू कसैलाई दुःख पर्दा 'पाप लागेर दुःख पाएको' भन्दै चित्त बुझाउँछौँ, वा समाजले समस्यामा परेकाहरूलाई 'पापी' को टोकरी र पगडी भिराइदिन्छ। तर, स्वयं भगवान् भनेर पूजिने रामचन्द्रले कुन पाप गरेर बनवास जानु परेको थियो? माता सीताले कुन पापको कारण रावणबाट अपहृत हुनुपर्यो? भगवान् भएर पनि उनीहरूले किन त्यति ठूलो सङ्कट भोग्नुपर्यो? यस्तै प्रश्न र उत्तरको गहिराइ खोज्दै जाँदा मैले एउटा सत्य फेला पारेँ— मानिसलाई आउने यी समस्याहरू कुनै पापको सजाय होइनन्, बरु अरू मानिसहरूलाई जीवनको ठूलो शिक्षा दिनका लागि आउने परीक्षा हुन्। अनि जसले यो परीक्षा सहज रूपमा पार गरेर संसारलाई मार्गनिर्देशन गर्न सक्छ, उही 'राम' बन्ने पवित्र यात्रामा हुन्छ।
म कस्तो छु, अरूले मलाई कुन दृष्टिकोणको चित्रमा कोरेका होलान्, मलाई थाहा छैन। तर म आफ्नो स्वभाव राम्ररी जान्दछु। म कुनै कुरामा लागेँ भने भेडाभन्दा पनि एकोहोरो हुन्छु; त्यो विषयको अन्तिम गहिराइसम्म नपुगी म छोड्दै छोड्दिनँ।
जब मेडिकल रिपोर्टले मेरी श्रीमतीको ठूलो आन्द्रामा ट्युमर पलाएर आन्द्रा टालिँदै गएको जानकारी दियो, त्यो अरूका लागि केवल 'क्यान्सर' भन्ने एउटा भयानक नाम मात्र थियो होला। तर मेरो लागि, त्यो मासुभित्र मासु पलाएको एउटा अज्ञात औँलाहरूको स्वरूप थियो, जसले दिनदिनै आफ्नो विनाशात्मक फैलावट बढाउँदै लगिरहेको थियो। शरीरको तौल घटाउँदै लैजाने तर आफ्नो आकार बढाउँदै लैजाने त्यो एउटा अप्रत्याशित र क्रूर क्रिया थियो। यसले परिवारको स्वास्थ्य नाजुक बनाउँदै लग्यो, रगत कम हुने लगायतका अनेकौँ जटिल समस्याहरू थपिँदै गए।
रोग लाग्यो, अर्थात् शरीरलाई रावणले बन्धक बनायो। त्यो बन्धनबाट मुक्त गराउन म जीवनको एउटा कठिन वनमा भौंतारिन सुरु गरेँ। एक्लै, अचानक त्यो अनकन्टार जङ्गलमा म जस्तै पीडामा परेका अनेकौँ 'वानर राजहरू' र वानरका मन्त्री 'हनुमानहरू' (सहृदयी सहयोगी र चिकित्सकहरू) भेटिए। उनीहरूकै सहयोग र मार्गनिर्देशनबाट मैले शरीरलाई बन्धक बनाउने 'राेग काेलन क्यान्सर' नामको रावण भन्ने राम्ररी चिनेँ।
फलस्वरूप, त्यसको पञ्जाबाट मेरी सीतालाई छुटकारा दिन म जमिनमाथिबाट हजारौँ किलोमिटर परसम्म पुगेँ— अर्थको हतियार, विवेकको बाण, सकारात्मक सोचको तरवार र अटल विश्वासको पासो लिएर। हाम्रो यो युद्ध निकै लामो र थकाइलाग्दो चलिरह्यो। कहिलेकाहीँ युद्धको मैदानमा हामी मूच्छित पनि भयौँ। तर, फेरि हाम्रा सहयोगी हनुमानहरूले हामीलाई मूर्छाबाट ब्युँझाउन औेषधि-मुलोको पहाड नै उठाएर ल्याइदिए, उपचार गरिदिए। हामी ब्युँझियौँ र फेरि नयाँ ऊर्जाका साथ युद्धमा लागिरह्यौँ।
आज यो संस्मरण लेखिरहँदा म निकै हर्षित र भावुक छु। त्यो रावणका सबै सेनाहरूलाई हामीले तहसनहस पारिसकेका छौँ। रावण अहिले लम्पसार परिसकेको छ। उ साच्चै नै मृत्युको मुखमा पुगेको हो वा केवल बेहोस भएको हो, त्यो हामीलाई ठ्याक्कै थाहा छैन। त्यसैले, हामी यही जून १५ तारिख (असार १ गते) उसको नाडी छामेर ढुकढुकी परीक्षण गर्दैछौँ; नाकबाट श्वास आइरहेको छ कि छैन भनेर अन्तिम जाँच गर्दैछौँ।
मलाई पूर्ण आशा र विश्वास छ, त्यो रोगरूपी रावण यही असार १ गते पूर्ण रूपमा मृत्युशय्यामा पुगेको सुखद खबर म यहाँहरूमाझ पुर्याउनेछु। अब ऊ कहिल्यै पनि मेरो परिवारलाई अपहरण गर्न तम्सने छैन भन्ने दृढ विश्वास मैले लिएको छु।
यो सङ्घर्षबाट मैले के बुझेँ भने, मानिसको जीवनमा रामायण र महाभारत सधैँ चलिरहँदो रहेछ। यो रामायणको सुखद अन्त्यपछि, यहाँहरूले भविष्यमा मेरो जीवनको अर्को 'महाभारत' (अर्को ठूलो सङ्घर्ष र विजयको कथा) पनि पढ्न पाउनुहुनेछ।
मेरो यो लेखनीको मूल मर्म नै यही हो कि, दुःखलाई पापको फल ठानेर हार नमानी, यसलाई एउटा शिक्षा र शक्तिको रूपमा स्वीकार्नुपर्छ। रावण जतिसुकै शक्तिशाली भए पनि, विवेक, धैर्य र सही सारथिहरूको साथ भएमा विजय निश्चित छ। मेरो यो भोगाइले कतै न कतै, कसै न कसैलाई जीवनसँग लड्ने एउटा नयाँ ऊर्जा दिनेछ भन्ने आशा राखेको छु। यहाँहरूलाई मेरो यो सोच र जीवनको भोगाइ कस्तो लाग्यो, आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला। अन्तमा अाफुलाइ रामकाे शंज्ञा दिएर भगवान बनाउने भन्ने नठानिदिनुहाेला किनकि राम पनि बिक्रम हुन बिक्रमकाे अर्थ नै विष्णु हाे, विष्णु भनेकै राम हुन अतः राम पनि बिक्रम हुन बिक्रम पनि राम नै हुन । जय श्रीराम ।।