" मेराे कथा मेरै शब्दमा गुनासाे कसैलाइ छैन "
समयको छाल र सङ्घर्षको किनार: एउटा जीवन– (लेखक: बिक्रम न्यौपाने)
आज क्यामेराको लेन्सबाट संसारका रङ्गीन दृश्यहरू कैद गर्दै गर्दा, वा धापासीको आफ्नै स्टुडियोमा बसेर अतीतका पानाहरू पल्टाउँदा, मलाई लाग्छ—जीवनको सबैभन्दा उत्कृष्ट र मर्मस्पर्शी सिनेमा त मेरै विगत पो रहेछ। समयको सुई निरन्तर घुमिरहेको छ, तर मेरो मानसपटलमा ती पुराना तस्बिरहरू आज पनि उत्तिकै जीवन्त र स्पष्ट छन्। यो केवल एउटा आत्मकथा होइन; यो त गरिबी, हेपाइ, अशिक्षा र एउटी आमाको अदम्य साहसले कोरिएको एउटा कथा हो।
१. अस्ताउँदो घाम र अँध्यारो गोठमा मेरो उदय
बि.सं. २०३६ साल असोज ३ गते। प्रकृतिको क्यानभासमा भदौरे झरीले धोएको आकाश कञ्चन थियो होला। गोठमा एउटी गाईले भर्खरै जन्मिएको आफ्नो बाछोलाई वात्सल्यको जिब्रोले चाट्दै गर्दा, चराहरूको चिरबिरले एउटा नयाँ बिहानीको सङ्गीत भर्दै थियो। उता, पितृपक्षको सोह्रश्राद्धमा पुरोहितहरू मन्त्रोच्चारण गर्दै थिए। ठ्याक्कै त्यही समय, एउटा सानो, परालले छाएको गोठमा मेरी आमा प्रसव पीडाले छटपटाउँदै हुनुहुन्थ्यो। मामाघरबाट ल्याइएको गाईको मुख्याञ्जिमा, म मघा नक्षत्रको बलियो प्रभाव लिएर यस अविद्या र तृष्णारूपी संसारमा चिच्याउँदै आइपुगेँ।
तर, मेरो जन्म केवल एउटा सन्तानको जन्म थिएन; म 'सौतेनी सन्तान' को बिल्ला भिरेर जन्मिएको थिएँ। मेरी आमाको हर्षको कुनै सीमा थिएन होला, किनकि पहिलो सन्तान छोरी भएपछि जन्मिएको म छोरो थिएँ। तर समाज र परिवारको संरचना निष्ठुर थियो। सुत्केरी भएको भोलिपल्टैबाट मेरी आमाले घाँस-दाउराको भारी बोक्नुपर्यो। अन्धविश्वास, अशिक्षा र आर्थिक अभावले गाँजेको त्यो समयमा, बुबाको सुरापान र पारिवारिक कलहले हाम्रो घरलाई कहिल्यै सुखको बासस्थान बन्न दिएन।
२. बागमती किनारको त्यो कहालीलाग्दो रात
जीवनको सुरुवात नै सङ्घर्षको भट्टीबाट भयो। बुबाको क्रोधको ज्वालाबाट बच्न हामी सहर पस्यौँ। पाटनको बानेश्वरमा अरूका भाँडा माझेर आमाले हाम्रो पेट पाल्नुभयो। तर २०३९ सालमा हजुरआमाको देहावसानपछिका ती दिनहरू अझै मेरो स्मृतिमा बिझिरहन्छन्। बागमती किनारको त्यो पानीघट्टमा बिताएको त्यो रात—जहाँ बाहिर गुहार-गुहारको दर्दनाक चिच्याहट सुनिन्थ्यो। आमाले हतारिँदै लालटिन निभाएर, ढोकामा मकैको बोराको आड लगाउँदै हामीलाई च्यापेर कुनामा लुकाउनुभएको थियो।
भोलिपल्ट बागमती किनारमा भेटिएको त्यो लासको खबरले आज पनि मेरो आङ सिरिङ्ग हुन्छ। त्यो डरलाग्दो रातबाट भागेर दनुवार गाउँ हुँदै घर पुग्दा पाइलाहरू कति कामेका थिए, त्यो म कहिल्यै भुल्न सक्दिनँ।
३. विक्षिप्त बाल्यकाल: सुकुलको स्कुलदेखि भाडाको डेरासम्म
मेरो बाल्यकालका रङ्गहरू निकै फिक्का थिए। श्री गणेश स्कुलको त्यो सुकुलमा बसेर पढ्नुभन्दा बढी म गोठालो जान रुचाउँथेँ। दिदीलाई स्कुल नपठाइनुको त्यो लैङ्गिक विभेद र अशिक्षाको अँध्यारो युग मैले आफ्नै आँखाले देखेँ। आमाले लुकाएका सुका पैसा चोरेर पुष्टकारी खाँदा आमाको अम्रिसोको कुटाइ खाने दिदी र टुलुटुलु हेर्ने म—समयले मलाई कति छिटो चतुर बनाउँदै थियो।
२०४४ सालमा बुबाले आमालाई मार्ने धम्की दिएपछि, ६ वर्षकी बहिनीको बाटो देखाउने सहारामा हामीले कहिल्यै नफर्कने गरी बुबाको घर छाड्यौँ। रोशन कार्कीको आश्रय, पाटनदेखि भोटबहाल हुँदै काठमाडौंका गल्लीहरूमा फेरिएका हाम्रा डेराहरू नै हाम्रो संसार बन्यो। बुबाले भान्सामा ताल्चा लगाएर जाँदा भोकभोकै परेका ती दिन हुन् वा आमाले परिवार नियोजनदेखि पेप्सीकोलासम्म बगाएको पसिना; हाम्रो जीवन केवल बाँच्ने एउटा निरन्तर सङ्घर्ष थियो। २०४५ सालको भूकम्पले हल्लाएको त्यो टिनको बाकसको आवाज आज पनि कानमा गुञ्जिन्छ।
४. २०४६ को क्रान्ति र आमाको मृत्युसँगको सङ्घर्ष
२०४६ सालको जनआन्दोलन मेरो जीवनको अर्को डरलाग्दो अध्याय थियो। सडकमा 'जिन्दावाद र मुर्दावाद' का नारा लाग्दै गर्दा हामी आमाको हात समातेर गोलीको आवाज छल्दै वसन्तपुरको शिव-पार्वती मन्दिरको सिंहमुनि लुकेका थियौँ। तर त्योभन्दा ठूलो क्रान्ति त हाम्रै कोठामा घट्यो। आमाले अफिसमा कसैले दिएको खानेकुरा खाँदा विष परेछ।
वीर अस्पतालको त्यो रात, जहाँ आन्दोलनका घाइतेहरूको रगतले भुइँ भिजेको थियो, आमा जीवन र मरणको दोसाँधमा हुनुहुन्थ्यो। म, एउटा कलिलो बालक, बहिनीलाई च्यापेर रोइरहेको थिएँ। त्यही बेला सेनाका जवान दाजुहरू र एकजना पसल गर्ने अङ्कलले देखाएको मानवताले हामीलाई त्यो रात कट्न मद्दत गर्यो। आमा अस्पतालबाट भागेर आउनुपरेको त्यो विवशता गरिबीको सबैभन्दा क्रूर प्रतिविम्ब थियो।
५. दिदीको सिन्दूर र हराएको बाल्यकाल
हाम्रो सङ्घर्षमा सबैभन्दा बढी पिल्सिएकी कोही थिइन् भने ती मेरी दिदी थिइन्। सौतेनी आमाको काखमा हुर्केकी, नाम्लो र डोकोलाई नै आफ्नो भाग्य सम्झेकी दिदीलाई धुमाउनेको भिरमा घाँस काट्दै गर्दा मैले पाँच वर्षपछि देखेको थिएँ। जब आमाले दिदीलाई सहर ल्याउनुभयो, उनको उमेर जम्मा १३-१४ वर्षको थियो।
तर गरिबीले उनको बाल्यकाल लुटिसकेको थियो। जम्मा १५ वर्षको कलिलो उमेरमा २०४९ सालमा गुह्येश्वरी मन्दिरमा दिदीको कन्यादान गर्दा मेरो मन कति भारी भएको थियो। विवाहको भोलिपल्टै आधा मुख छोपेर अरूको घरमा भाँडा माझ्दै गरेकी दिदीलाई देख्दा, मलाई यो समाज र परिस्थितिको निष्ठुरताप्रति असीम घृणा जागेर आएको थियो।
६. रङ्गीन गुच्चा, हराएको बाटो र साथीहरूको सङ्गत
काठमाडौंका गल्लीहरूमा म हुर्कंदै थिएँ। काष्ठमण्डपको गणेश मूर्तिमा चढाइएका लड्डु मेरो बिहानको नास्ता हुन्थ्यो। खल्तीमा पैसा हुँदैनथ्यो, तर रञ्जना हलको एक रुपैयाँको टिकट काटेर फिल्म हेर्ने र सिसाको बोतलभरि रङ्गीन गुच्चा भर्ने मेरो सौख भने राजाको जस्तै थियो। म बिस्तारै बाटो बिराउँदै थिएँ। आमाको पसलबाट पैसा चोर्ने, झुट बोल्ने र बरालिने बानी परिसकेको थियो।
शान्ति निकुञ्ज स्कुलको त्यो बसाइ, जहाँ म जहिल्यै पछाडि पर्थेँ। सुदर्शन (जसको दुखद अन्त्यले मलाई पछि धेरै रुवायो), रञ्जन, रमेश, सुन्दर र गणेश जस्ता साथीहरूको सङ्गतले जीवनमा कहिले वसन्त ल्यायो त कहिले हुरी। गणेशको घरमा खाएको खाना होस् वा सुदर्शनले दिएको जिन्स पाइन्ट; ती साथीहरू मेरा जीवनका अमुल्य सम्पत्ति थिए। १२ वर्षको उमेरदेखि थानकोटको फोटो स्टुडियोमा रिल र नेगेटिभ बोकेर कुदेका ती दिनहरूले मलाई श्रमको मूल्य त सिकाएको थियो, तर शिक्षाको महत्त्व भने मैले बुझेको थिइनँ।
७. आमाको आँसु र जीवनको पुनर्जागरण
जीवन त्यसैगरी बरालिइरहेको थियो। म कक्षा १० को टेस्ट परीक्षामा ७ वटा विषयमा नराम्ररी फेल भएँ। त्यस दिन आमाका आँखाहरू रसाएका थिए। उनले भरिएको स्वरमा भनिन्—
"तेरो बाबुले मलाई मार्ला भनेर म निस्केँ, तिमीहरूलाई हली बनाउलान् भनेर मैले ल्याएँ... आज यो दिन देख्न रैछ... म केही भन्दिनँ, तँ जे गरे नि गर् तर एस.एल.सी. चैं पास गरेरै देखा।"
आमाको त्यो वाक्य मेरो मुटुमा सिधै तीर बनेर रोपियो। त्यो केवल एउटा भनाइ थिएन; त्यो त वर्षौंदेखि पिल्सिएको एउटी आमाको चित्कार थियो। त्यस रात मैले जीवनका पानाहरू फर्काएर हेरेँ। मेरो बाल्यकाल, आमाको सङ्घर्ष, अपमानका ती शृङ्खलाहरू, र मेरो आफ्नै मूर्खता।
भोलिपल्टको बिहानी मेरो लागि नयाँ सूर्योदय थियो। लास्ट बेन्चमा एक्लै बसेर मैले आफैँसँग प्रतिस्पर्धा सुरु गरेँ। ट्युसन पढ्ने पैसा नहुँदा मनिका मिसले दिएको नि:शुल्क शिक्षा र सुन्दर, रमेश जस्ता साथीहरूको साथले मेरो जग बलियो बनायो। जब एस.एल.सी. को परीक्षा दिँदासम्म म 'पढनदास' बनिसकेको थिएँ।
उपसंहार: एउटा अध्यायको विश्राम
अभावले मान्छेलाई जति गाल्छ, सङ्घर्षले त्यति नै तिखार्छ। जब एस.एल.सी. को नतिजा आयो र म उत्तीर्ण भएँ, त्यो केवल एउटा शैक्षिक प्रमाणपत्र थिएन; त्यो त मेरी एक्ली आमाले समाजलाई दिएको सबैभन्दा ठूलो र कडा जवाफ थियो। १८ वर्षको उमेर, कलेजको यात्रा, र पाएको छात्रवृत्ति—यहाँ आइपुग्दा मेरा बाल्यकालका ती रङ्गीन गुच्चाहरू कतै छुटिसकेका थिए।
विगतमा थानकोटको एउटा सानो स्टुडियोमा फोटो धुलाउन कुद्ने त्यो ठिटो, आज समयको विशाल भट्टीमा खारिएर निस्किएको छ। समयले मान्छेलाई एउटै रसमा राख्दैन रहेछ। हिजोको वेदना रस आज वीर र शृङ्गार रसमा बदलिएको छ। सङ्घर्षको यो महाकाव्य यहाँ सकिएको छैन, यो त केवल एउटा विश्राम मात्र हो। समय अझै हिँडिरहेछ, र म पनि त्यही समयको पदचाप पछ्याउँदै आफ्नै कथा लेखिरहेको छु।
